देउराली । साेमबार राती देखी परेको अविरल वर्षाका कारण सुनसरीका विभिन्न स्थानमा बाढी तथा डुबानका कारण क्षति भएको छ । वर्षाका कारण आएको बाढीले सुनसरीको इटहरी, बर्जु, भेक्राहा नगरसिंह, हरिनगर, इनरुवा, दुहबी र वराहक्षेत्रमा कटान तथा डुबान हुँदा क्षति भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
कार्यालयका अनुसार मानविय क्षति नभएपनि बाढीका कारण सयाैं परिवार विस्थापित भएका छन् ।
इटहरीको वडा नम्बर ८ स्थित घुर्कीमा मंगलबार डुबान भएको थियो डुबान भएको स्थानमा जेसिविको प्रयोग गरेर पानीलाई निकास दिए पनि पुनः डुबान हुनसक्ने खतरा रहेको प्रशासनले जनाएको छ । त्यस्तै, वडा नम्बर ५ स्थित सिमरवनामा आज बिहान सिकुमारी खोलामा आएको बाढीले रामवृक्ष चौधरीको २ तले घर कटान भएर भत्किएको छ । घर भत्किएपछि चौधरीको ८ जनाको परिवार यति वेला छिमेकीकामा सारिएको छ ,भने घर भित्र रहेको सबै सामग्री बगाएर बाढीले बगाएको कार्यालयले जनाएको छ ।
त्यस्तै, भोक्राहा नगरसिंहको वडा नं ७ मा मंगलबार देखी नै २० घर डुवानमा रहेकाेमा निरन्तर वर्षाका कारण याे संख्या अझ बढेकाे बताइएकाे छ । ५ नम्बर वडाको टपरा टोलमा १० घर र सिस्वानिमा १५ घर डुबानमा रहेको कार्यालयले जनाएको छ ।

वर्जु गाउँपालिकाको ५ नम्बर वडाको पण्डित टोल र गुरुङ टोलका १४ परिवार डुबानका कारण विस्थापित भएका छन् । विस्थापित परिवारहरूलाई जनता प्राथमिक विद्यालय र मुसर समुदायको आवास भवनमा राखिएको कार्यालयले जनाएको छ । ६ नम्बर वडा बाढीका कारण करिब ४० घरपरिवार विस्थापित भएकामा करिब सय जनालाई वडा कार्यालय नजिकैको खालि चउरमा पाल टाँगेर राखिएको कार्यालयले जनाएको छ ।
इनरुवा नगरपालिका ८ स्थित उराउ टोलमा मंगलबार देखी नै २० घर डुबानमा रहेको कार्यालयले जनाएको छ । दुहबी नगरपालिका ४ मा बुढीखोलामा आएको बाढीका कारण साेभा कुमार चौधरी र विकास विकको घर भत्कदा दुई परिवारका ९ जना विस्थापित भएका छन् । विस्थापित उनीहरूलाई विपि आधारभूत विद्यालयमा अस्थायी आवासको व्यवस्था गरिएको कार्यालयले जनाएको छ । त्यस्तै १२ नम्बर वडाको ठेका टोलामा बुधबार ट्याग्रा खोलाको बाढीका कारण डुबान भएपछि बर्जु गाउँपालिका चिमडी जाने कालोपत्रे सडक काटेर पानीको निकास दिइएको छ ।
वराहक्षेत्रको १ नम्बर वडा स्थित चतर–वराहक्षेत्र सडक खण्ड आज बिहान पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको छ भने वडा नम्बर ४,५, ८,१० र ११ सामान्य डुबान रहेको कार्यालयले जनाएका छ ।
त्यसै गरी,हरीनगर गाउँपालिकामा पिन बाढीका कारण केही घरपरिवार विस्थापित हुनसक्ने कार्यालयले जनाएको छ ।