सुनसरी । ‘हरेक वर्ष खेत बगाएर लान्छ । घर डुब्छ । सुनसरी खोलामा आउने बाढीको पानीले खेतलाई बगर बनाउँछ । बर्सेनि यो हाम्रो नियति नै बनेको छ’ यो भनाइ हो; सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित सिस्वनी टोलका जाबिर मन्सुरीको ।
यो समस्या मन्सुरीको मात्रै होइन; उनीजस्ता सुनसरी खोलानजिकै बसोबास रहेका करिब दुई दर्जन घरपरिवारको हो । मनसुन सक्रिय भएसँगै मङ्गलबारदेखिको निरन्तर अविरल वर्षाका कारण सुनसरी खोलामा बाढी आउँदा भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ४ स्थित सिस्वनी टोलका १५ घर, वडानम्बर ५ कै टपराका १० घर र वडानम्बर ७ स्थित रहेको यादव टोल बरगाछीका २० घर डुबानमा परेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
बर्सेनि सुनसरी खोलामा आउने बाढी गाउँ पस्दा ती क्षेत्रका स्थानीयको उठीबास हुनुका साथै खेतीयोग्य जमिन बगाउने गरेको स्थानीय हेमनारायण यादवले गुनासो गरे । ‘वर्षाको समयमा भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ५, ६, ७ र ८ का सर्वसाधारण डुबानमा पर्नु नौलो कुरा होइन’ उनले भने, ‘प्रत्येक वर्ष सुनसरी खोलाको बाढी गाउँ पस्ने गर्छ ।’ बर्सेनि वर्षायाममा बाढी आउँछ भन्ने कुरा सबैलाई थाहा छ तर, समस्या समाधान गर्न चासो दिएको पाइँदैन । सुनसरी खोलामा पानीको सतह ओभरफ्लो हुँदा भोक्राहा नरसिंह क्षेत्रका सर्वसाधारण बर्सेनि डुबानमा पर्दै आएको नेपाल मुस्लिम सङ्घ प्रदेश नम्बर १ का सभापति हाजी डाक्टर इसराइल मन्सुरीको भनाइ छ ।
‘हरेक वर्ष बाढी आएपछि जनप्रतिनिधि र स्थानीय प्रशासनले राहत, उद्धार र अस्थायी पुनःस्थापनको व्यवस्था गर्दछ, तर यो अवस्था कहिले सम्म भन्ने प्रश्नको जवाफ कसैसँग छैन’–उनले भने । रातिको समयमा भारी वर्षा भयो भने उनीहरू सुत्न सक्दैनन्, सुरक्षित स्थानमा पुग्न भागाभाग हुन्छ । गतवर्ष कात्तिक महिनामा समेत यो क्षेत्रमा बाढी आउँदा सयौं किसानले लगाएको खेती नष्ट भएको थियो ।

यस्तै निरन्तर वर्षाका कारण इनरुवा, रामधुनी र वराहक्षेत्र नगरपालिकासँगै कोसी, बर्जु, गढी, हरिनगर र देवानगञ्ज गाउँपालिका क्षेत्रका कतिपय स्थान डुबानमा परेका छन् । इनरुवा नगरपालिका–८ का २० घर डुबानमा परेका छन् भने बर्जु गाउँपालिकाको वडानम्बर ५ स्थित पण्डित टोलका ६ र गुरुङ टोलका ८, यस्तै बर्जु गाउँपालिकाको वडानम्बर ६ का ४० घरपरिवार विस्थापित भएको सुनसरी प्रशासनले जनाएको छ । विस्थापितमध्ये कतिपयलाई खुला स्थानमा पाल टाँगेर राखिएको छ भने कतिपय विस्थापितलाई उद्धार गरी स्थानीय मन्दिरमासमेत राखिएको बताइएको छ ।
उद्धारमा जनप्रतिनिधिको सक्रियता
यसैबीच निरन्तर अविरल वर्षाका कारण डुबानमा परेका सर्वसाधारणको उद्धारमा जुटेको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले बताएका छन् ।
सुनसरी खोलाको बाढी गाउँ पसेपछि विस्थापित बनेका सर्वसाधारणलाई उद्धार गर्दै डुबान र कटान नियन्त्रण गर्न र्यापिड रेस्पोन्स टिमसहित अत्यावश्यक औषधिका साथ क्युक मेडिकल टिमसमेत बाढी प्रभावित क्षेत्रमा खटाइएको उनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग सहकार्य गर्दै गाउँपालिकास्तरीय विपद् व्यवस्थापन टिमको नेतृत्व गर्दै आफै डुबान र कटान रोकथामका साथै विस्थापित घरपरिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सार्न तथा उनीहरूलाई आवश्यक राहत उपलब्ध गराउन खटेको अध्यक्ष आजादको भनाइ छ । पानी पर्ने क्रम जारी रहेकोले इनरुवा नगरपालिका, भोक्राहा नरसिंह र कोसी गाउँपालिका क्षेत्रका विद्यालय तीन दिनसम्मको लागि बन्द गरिएका छन् ।