देउराली ।  महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गामा भइरहेको मोही विवाद समाधान गर्न धरान उपमहानगरपालिकामा त्रिपक्षीय छलफल भएको छ । उपमहानगरका मेयर हर्कराज राई ९साम्पाङ०को उपस्थितिमा मोही हक दाबी गर्ने यज्ञ घिमिरे, क्याम्पसको जग्गा बचाउ समितिका प्रतिनिधि र क्याम्पस प्रशासन बिच  विवाद समाधान तथा मेलमिलापकालागि  छलफल भएको हो । 

छलफलमा मोही डम्बरबहादुर क्षेत्रीका छोरा यज्ञ मेलमिलाप गर्न सकारात्मक रहेको समितिका संयोजक एवं पूर्व क्याम्पस प्रमुख कुमारबहादुर कार्कीले बताए ।

 २०३४ सालमा धरान ११ स्थित स्वस्तिक चोकमा कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा तत्कालीन जग्गा धनी श्याम गोविन्द श्रेष्ठबाट क्याम्पसले खरिद गरेको थियो । त्यो समयमा मोही डम्बर बहादुरलाई चित्त बुझाएर खरिदर बिक्री भएको बताइए पनि  स्रेस्तामा मोहीको नामको लगत कट्टा नहुँदा ४० वर्ष पछि मोही डम्बरको मृत्यु पछि उनका छोरा यज्ञले मोही हक दाबी गर्दै भूमिसुधार कार्यालय सुनसरीमा निवेदन दिएका थिए । 

मोही घिमिरेको २०५६ सालमा नै मृत्यु भएको थियो भने उनकी पत्नी शिवकुमारीको पनि २०६४ सालमा निधन भइसकेको छ। घिमिरे दम्पतीको निधन भएको लामो समयपछि उनका छोरा यज्ञबहादुरले  २०७५ मा भूमिसुधार कार्यालयमा मोही हक आफ्नो नाममा नामसारी गर्न निवेदन दिएका थिए ।  त्यति बेला नै जग्गामा मोहीको जोत भोग नभएको र तिरो पनि नतिरेको, उक्त जग्गा क्याम्पसले हक भोग गरेर भवनसमेत बनाएको दाबी गर्दै मोही लगत कट्टा गर्न माग गर्दै क्याम्पसले  अर्को निवेदन दिएको भए पनि  कार्यालयले एकपक्षीय रूपमा मोही नामसारी गरिदिने फैसला गरेको थियो।  

कार्यालयले उक्त जग्गामा यज्ञको हक दाबी कायम गर्ने निर्णय गरेपछि क्याम्पस प्रशासनले उच्च अदालत विराटनगरमा रिट दायर गरेको थियो । उक्त रिट उपर उच्च अदालतले असार १९ सम्ममा मेलमिलाप गरिसक्न समय सीमा तोकेको छ । 

 क्याम्पस प्रमुख दामोदर भण्डारी, पुर्व क्यामपस प्रमुख चन्द्रकुमार राई, जग्गा बचाउ समितिका संयोजक एवं पुर्व क्याम्पस प्रमुख कार्की, वडा नं ११ का अध्यक्ष लोकेन्द्र फागो र वडा नं १६ का अध्यक्ष मुरारी भट्टराई लगायतको सहभागी भएको उक्त छलफलमा नगर प्रमुख साम्पाङले मेयरको कार्यकक्षमा भएको छलफलमा नगर प्रमुख साम्पाङले  मेलमिलाप गर्न र सार्वजनिक तथा शैक्षिक संस्थाको जग्गा छोडिदिन आग्रह गर्दै त्यसो नगरे सामाजिक दबाब थेग्नै नसक्ने गरी आउने भएकाले  समयमै विचार पुर्‍याउन घिमिरेलाई सुझाव पनि दिएका छन् ।