विराटनगर ।  प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीसहित सुरक्षा अधिकारीको टोलीले मोरङको खोलाहरुले पुर्याएको कटान क्षेत्रको निरीक्षण गरेका छन् । वर्षासँगै आएको बाढीले धार परिवर्तन गरी बस्तीतर्फ पस्ने खतरा भएका नदीखोलाको निरीक्षण गरेका हुन् । 

मन्त्री कार्कीको नेतृत्वमा मोरङको मावा, बक्राहा र चिसाङ खोलाले गरिरहेको कटान हेर्न सरकारी अधिकारीसहितको टोली स्थलगत निरीक्षण गर्न पुगेका थिए । ‘कहाँ कसरी कटान भईरहेको भन्ने बर्खाकै बेला हेर्दा त्यसको नियन्त्रणमा योजना बनाउन सहज होस भनेर प्रत्यक्ष निरीक्षण गरेका हौं,’ मन्त्री कार्कीले भने, ‘अब सोहीअनुरुप नदीखोला नियन्त्रण गर्न तटबन्ध निर्माण तथा अरु उपायबारे सरकारलाई जानकारी गराउने छौं ।’ 

बक्राहा, मावा र चिसाङले पूर्वी र दक्षिणी क्षेत्रमा अधिक बस्ती डुबान गर्ने तथा खेतयोग्य जमिन कटान गर्ने गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालासहितको टोली उर्लाबारी, पथरीशनिश्चरे, रंगेली पुगेर स्थानीय पालिकाका प्रमुख तथा जनप्रतिनिहरुसँग पनि कटान र यसको नियन्त्रणको उपायरबारे छलफल गरेको हो । 

बाढी तथा कटानबाट भएको क्षति र उत्पन्न समस्याको विषयमा पीडित तथा प्रभावित बासिन्दसँग छलफल गरिंदा त्यहाँको खास समस्या उजागर गर्ने बताए । के गर्दा कटान नियन्त्रण गर्न सकिन्छ त्यसको लागि दिर्घकाािलन योजना बनाएर अगाडी बढने उनले बताए । प्रदेशस्तरबाट हुने तटबन्धन निर्माणको काम यतैबाट र नहुने संघीय तथा स्थानीय सरकारसँगको समन्वयमा अघि बढाइने उनको भनाई छ ।

अविरल वर्षासँगै आएको बाढीले मोरङका खोलाहरुमा आएको बाढीले ठूलो आर्थिक नोक्सानी गरेको छ । प्रदेश राजधानी विराटनगर हरेक वर्ष जस्तै योपटक पनि डुबानको चपेटामा परेको छ । 

विराटनगरमा हरेक वर्ष सिंघीया र केशलिया खोलाले दुःख दिने गरेको छ । यसको नियन्त्रणका लागि तटबन्धसहितको करिडोर निर्माणको लागि प्रदेश सरकारले योजना बनाईरहेको आन्तरिक मामिला मन्त्री कार्कीले बताए । ‘प्रदेश सरकारले दुबै खोलाको दुबैतर्फ स्थायी तटबन्धन निर्माण गर्ने र यसलाई ग्रीनबेल्टको रुपमा सिमावर्ती भारतीय क्षेत्रसम्म नै विकास गर्ने योजना बनाएको छ । विस्तृत अध्ययनपछि सरकार आफैले अथवा दाता निकायसँगको सहयोगमा यो काम अघि बढाइने छ,’ उनले भने ।