विराटनगर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र सिट बाँडफाँडमा बाहिर हल्ला भएको जस्तो असहमतिको वा सकसपूर्ण अवस्था नरहेको बताएका छन् । 

विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले भदौ १५ भित्र सत्ता गठबन्धनभित्र सबै काम सकिने बताएका हुन् ।

‘बाहिर चर्चा भए जस्तो एकदमै धेरै समस्या त्यस्तो केही छैन’, उनले भने ‘हामी निरन्ँतर छलफलमा छौं । कार्यदलले काम गरिरहेको छ ।’ राष्ट्रपतिबाट नागरिकता विधेयक स्वीकृत हुने पनि उनले विश्वास व्यक्त गरेका छन् । दाहालले राष्ट्रपतिका कतिपय व्यवहार भने स्वाभाविक नदेखिएको टिप्पणी गरेका छन् ।

‘राष्ट्रपतिबाट नागरिकता विधेयक स्वीकृत हुन्छ भन्नेमा म विश्वस्त छु । कतिपय व्यवहार स्वाभाविक देखिएको छैन । तर, यसले त्यस्तो केही संकट निम्त्याउने म देख्दिनँ,’ उनले भने

नागरिकता विधेयकमा सुझाव दिएकी राष्ट्रपतिलाई सत्ता गठबन्धनले सोही विधेयक जस्ताको तस्तै पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिने हल्ला चलिरहेको छ । सेनाका पूर्व अधिकारीहरुसँग छलफल गरेपछि राष्ट्रपतिको आलोचना भइरहेको छ । यो कदमको सबैजसो नेताहरुले आलोचना गरेका छन्।

पार्टीको पदाधिकारी समावेशी नभएको भन्ने गुनासो जायज नभएको बताउँदै उनले पदाधिकारी दैनिक काम सम्पन्न गर्नका लागि आवश्यक पर्ने तर नीति बनाउने स्थायी कमिटीमा एकैपटक १० जना महिला ल्याउने तयारी भइरहेको उनले बताए ।