धरान । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । 

परीक्षाफलअनुसार चार हजार १ सय ७९ जनाले तीन दशमलव ६१ देखि ४ जीपीए ल्याएका छन् । त्यस्तै ३० हजार १ सय ७ जनाले तीन दशमलव २१ देखि तीन दशमलव ६० जीपीए ल्याएका छन् भने ६५ हजार २ सय ८४ जनाले दुई दशमलव ८१ देखि तीन दशमलव २० जीपीए, ६४ हजार ९३ जनाले दुई दशमलव ४१ देखि दुई दशमलव ८० जीपीए, १० हजार ९ सय जनाले दुई दशमलव ०१ देखि दुई दशमलव ४० जीपीए र ३५ जनाले एक दशमलव ६१ देखि दुई जिपिए ल्याएका छन् । 

परीक्षामा नियमिततर्फ तीन लाख ६३ हजार आठ, ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ तीन हजार १ सय ३२ गरी कुल तीन लाख ९६ हजार १ सय ८५ विद्यार्थी परीक्षामा सहभागी थिए । 

यस वर्ष परीक्षामा उत्तीर्ण हुनका लागि प्रयोगात्मक परीक्षामा ४० र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरिएको थियो । त्योभन्दा कम अङ्क ल्याएको अवस्थामा पुनः परीक्षा दिनुपर्ने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । डा. शर्माका अनुसार एक लाख ८८ हजार विद्यार्थी नन्ग्रेडिङमा परेका छन् । त्यसमध्ये १ लाख ३० हजार ८ सय ७८ जनाले मात्रै ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने जनाइएको छ । तोकिएको प्रतिशतभन्दा कम ल्याउने तथा दुई प्रतिशतभन्दा कम ल्याउनेले पुनः ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउँछन् । 

गत जेठ १६ गतेदेखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्र तोकिएका थिए । ग्रेड वृद्धिका लागि अजोज ३० र ३१ गते परीक्षा हुने जनाइएको छ । परीक्षाफल हेर्नका लागि नेपाल टेलिकम, राष्ट्रिय परीक्षा बोर्डको बेवसाइट तथा एसएमएसबाट पनि नतिजा हेर्न सकिने जनाइएको छ ।