पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित ओसाँगुमा सम्पन्न भएको द्वितीया मेला अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि याङ्वरक गाउँपालिकाको पोल्टामा परेको छ ।

शुभदीपावलीको अवसरमा सम्पन्न भएको भलिबल प्रतियोगितामा फालेलुङ गाउँपालिकालाई हराउँदै याङ्वरकले उपाधि हात पारेको हो । याङ्वरकले उपाधि दाबेदार फालेलुङ गाउँपालिकालाई २५–२१, ३३–३१ र २५–१८ को अन्तरले पाखा लगाउँदै उपाधि हात पारेको हो ।

याङ्वरकले सेमिफाइनलमा इलाम नगरपालिकालाई २५–१४, २५–२१ र २५–२० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा पक्का गरेको थियो । त्यस्तै फालेलुङले पनि फाल्गुनन्द गाउँपालिकालाई २५–१७, २५–१७, २५–१६ र २८–२६ ले पाखा लगाउँदै फाइनलमा याङ्वरकसँगको भेट पक्का गरेको थियो ।

प्रतियोगिताको उपाधि विजेता याङ्वरकले नगद ७५ हजार ५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र हात पा¥यो भने, उपविजेतामा चित्त बुझाएको फालेलुङले नगद ४५ हजार ५ रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाण–पत्र हात पारेको त्रिवेणी युवा क्लबका अध्यक्ष यमराज आङ्देम्बेले बताए । प्रतियोगितामा उकृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद, ट्रफी, मेडल र प्रमाण–पत्र वितरण गरिएको थियो ।

त्यसैगरी द्वितीया मेलाकै अवसरमा आयोजित साङ्गीतिक साँझ कार्यक्रममा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहेको थियो । पहिलो पटक राष्ट्रिय कलाकार मिलन नेवार, राजु आङ्देम्बे, विकास लिम्बू, अशोक मुकारुङ, एकान्त आङ्देम्बे, सुजन आङ्देम्बे र स्थानीय कलाकारले मनोरञ्जन प्रदान गरेको सांस्कृतिक कार्यक्रम संयोजक निरज पोर्तेलले जनाए ।