बेलबारी । सहलेस युथ क्लब सिरहा पाँचौं संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित खेलमैदानमा बुधबार भएको खेलमा सिरहाको सहलेस युथ क्लबले भारतको आमुक्त परिवार वेष्ट बङ्गाललाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । सिरहाको जितमा फोफोना लिब्राइनले दुई र दिनेश हेन्जनले एक गोल गरे ।

खेलको पहिलो हाफमा भारतका सत्यम शर्माले गोल गर्दै टिमको खाता खोले तापनि जित निश्चित बन्न सकेन ।  प्रतिस्पर्धात्मक खेलको ३० औँ मिनेटमा डिबक्सभित्र प्राप्त बललाई उनले जाली चुमाएका हुन् । सत्यमको गोलसँगै दबावमा परेको सिरहाले दोस्रो हाफमा लगातार ३ गोल गरेको हो ।

मध्यान्तरपछि सिरहाबाट ४१ औँ र ७८ औँ मिनेटमा फोफोना लिब्राइनले र ४७ औँ मिनेटमा दिनेश हेन्जनले गोल गरेका हुन् । मध्यान्तरपछि भारतले आक्रामक प्रदर्शन गरे पनि विपक्षी बार भत्काउन नसक्नु उसका लागि दुर्भाग्यपूर्ण बन्यो । अवसर खेर जाँदा भारत खेलबाट बाहिरियो । सिरहा भने फराकिलो अन्तरको जित निकाल्न सफल बन्यो ।

खेलको म्यान अफ दी म्याच सिरहाका फोफोना लिब्राइन घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे । आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग र रोलिङ फुटबल क्लब झापाबीच आज (बिहीबार) प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । आयोजकका अनुसार प्रतियोगितामा नेपालका ७ र विदेशका ३ गरी १० वटा टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । गोल्डकपको पुरस्कार राशि यस वर्षदेखि बढाइएको हो । यसअघिका विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार पाएका थिए ।