विजयपुर । नेपाल राष्ट्र बैङ्कको कर्जा नियन्त्रण र ब्याजदर वृद्धिविरुद्ध व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनपछि १ नं. प्रदेशका मुख्यमन्त्रीसहित राष्ट्र बैङ्क विराटनगरमा ज्ञापन–पत्र बुझाएका छन् ।
चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरेका व्यवसायीहरूले आइतबार विराटनगरस्थित राष्ट्र बैङ्क र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापन–पत्र बुझाएका हुन् ।
नेपाल राष्ट्र बैङ्कको पछिल्लो नीतिका कारणले उद्योगी–व्यवसायीहरू मारमा परेकाले समस्या समाधानको माग राखी ज्ञापन–पत्र बुझाएको सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताए । उनका अनुसार उद्योग वाणिज्य महासङ्घ १ नं. प्रदेश समितिको अगुवाइमा ज्ञापन–पत्र बुझाएको हो । उनले भने, ‘महासङ्घको नेतृत्वमा १ नं. प्रदेशका १४ वटै जिल्ला प्रतिनिधिहरूको उपस्थितिमा ज्ञापन–पत्र बुझायौँ ।’
बैङ्कको चर्को ब्याजदर वृद्धि र कारोबारको २० देखि २५ प्रतिशत मात्र लगानी गर्ने नीतिले उद्योगी व्यवसायी समस्यामा पर्दै आएका छन् । चरणबद्ध सङ्घर्षका कार्यक्रमअन्तर्गत पहिलो चरणमा बैङ्कहरूलाई ज्ञापन–पत्र बुझाएका हुन् ।

बैङ्कले ब्याजदर नियन्त्रण गर्नुपर्ने उनीहरूले मुख्य माग राखेका छन् भने बैङ्कहरूले लगानी बढाउनु पर्ने पनि माग गरेका छन् । उनीहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि, वित्तीय क्षेत्रमा तरलताको चाप, कर्जा प्रवाह नहुनु र वित्तीय क्षेत्रले गरेको ब्याजदर वृद्धिले व्यवसाय सञ्चालन गर्न कठिन बनेको बताउँदै आएका छन् ।
व्यवसाय सञ्चालन कठिन हुँदा उद्योग कलकारखानामा आश्रित मजदुरहरूको जीवनयापनसमेत सङ्कटमा पुगेको महासङ्घले जनाएको छ । व्यवसायीहरूको चरणबद्ध सङ्घर्षका कार्यक्रमअनुसार राष्ट्र बैङ्क केन्द्रीय कार्यालय र अर्थ मन्त्रालयमा ज्ञापन–पत्र बुझाउने कार्यक्रम तय गरेका थिए ।
तर, उद्योगी व्यवसायीहरूको बैङ्क तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनमा महासङ्घका पदाधिकारीहरूले नै असहयोग गरेको अध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘महासङ्घ पदाधिकारीहरू नै बैङ्कको पक्षमा छन् । पदाधिकारी बैङकर्ष भएकाले व्यवसायीको आन्दोलनमा असहयोग गरे ।’ असहयोग गरेकाले राष्ट्र बैङ्क केन्द्रीय कार्यालय र अर्थमन्त्रालयमा ज्ञापन–पत्र बुझाउने तथा थप सङ्घर्षका कार्यक्रम अनिश्चित बनेको छ । उनले भने, ‘महासङ्घले सङ्घर्षका कार्यक्रम फिर्ता लिनू भन्यो । निर्वाचनपछि काठमाडौँ जाने कि पहिले नै जाने भनेर छलफलका क्रममा छौँ ।’