नेपालमा नवौं राष्ट्रिय प्रतियोगितामा प्रदर्शनी खेलका रुपमा रहेको थाइ बक्सिङ 'मुवा थाइ' प्रतियोगिता धरानमा पहिलो पटक आयोजना गर्न लागिएको छ ।
राष्ट्रव्यापी प्रतियोगिताका रुपमा आयोजना गर्न लागिएको स्पर्धामा पुरुषतर्फ ५१, ५४, ५७, ६०, ६७ र ७० केजी र महिलातर्फ ५१ र ५४ केजी तौल समूहका खेलाडीले सहभागिता जनाउने छन् ।
पहिलो पटक परिचयात्मक र प्रवर्धनात्मक स्पर्धाका रुपमा आयोजना भएकाले आर्थिक व्यवस्थापन र प्रायोजनको पक्षमा धेरै काम गर्न नसकेको आयोजक तथा सुनसरी जिल्ला मुवा थाई सङ्घका अध्यक्ष एल्कन मगरले बताए ।
शुक्रबार धरानमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी गराइएको हो । प्रथम धरान राष्ट्रिय व्यापी मुवा थाई प्रतियोगिता २०७९ु नाम दिइएको प्रतियोगिता आगामी मङ्सिर २४ गते शनिबारदेखि सुरु हुनेछ ।
विजेताले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद ५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता धरानको भानुचोकमा हुनेछ । मुवा थाई थाइल्यान्डको राष्ट्रिय खेल हो । यसलाई थाइ बक्सिङका रुपमा पनि चिनिन्छ । 'मार्सल आर्ट' यो खेल नेपालमा संस्थागत रुपमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको छ ।
सुनसरीमा ०७८ सालमा 'सुनसरी जिल्ला मुवा थाई सङ्घ' गठन भएको छ ।