धरान । विश्वकप फुटबल अन्तर्गत अबको खेल निःशुल्क हेर्न पाइने भएको छ ।
विश्वकप फुटबल २०२२ को अब तीनवटा खेल मात्र बाँकी छन् । दुई सेमिफाइनल र फाइनल खेल विश्व फुटबल महासङ्घ (फिफा)को नीतिअनुसार नेपालमा पनि निःशुल्क देखाइन लागेको हो ।
विश्वकप २०२२ का खेल हेर्न नेपालमा ५ सय ६५ रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको थियो । तर, फिफाको नियमअनुसार नै उद्घाटन खेल र अन्तिम ३ खेल निःशुल्क देखाउनुपर्ने व्यवस्था छ ।
सोहीअनुसार अब अतिरिक्त शुल्क नतिरेकाले पनि विश्वकप फुटबल हेर्न पाउने भएका हुन् । नेपालका लागि प्रसारण अधिकार मिडिया हबले पाएको छ । जसले हिमालयन टेलिभिजनको सहयोगमा विश्वकप देखाइरहेको छ । अबको खेल सित्तैमा हिमालय एचडी टिभीबाटै हेर्न पाइने जानकारी मिडिया हबले दिएको छ ।
यसअघि हिमालयन प्रिमियम नामक नयाँ नेटवर्क तयार गरिएको थियो । यस नेटवर्कबाट पनि आउने र हिमालयन टेलिभिजनको नियमित प्रसारणबाट समेत अबको खेल प्रसारण हुने मिडिया हबको भनाइ छ ।