विराटनगर । छैठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आगामी चैतको दोस्रो साताबाट हुने भएको छ ।
विराट गोल्ड कप फुटबल ट्रष्टले सोमबार पत्रकार सम्मेलन गरी चैत ६ देखि १४ गते गतेसम्म विराटनगरको सहिद रङ्गशालामा फ्लडलाइटको माध्यमबाट रात्रीकालीन गोल्डकप हुने जानकारी गराएको हो ।
गोल्डकप सफलतापूर्वक सम्पन्न गराउन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई संयोजकको जिम्मेवारी दिइएको छ । ट्रष्टको केही दिनअगाडि बसेको बैठकले कोइरालालाई गोल्डकपको संयोजकको जिम्मेवारी दिएको हो ।
प्रतियोगितामा विदेशी टिमसहित ‘ए’ डिभिजनका टिमहरू सहभागी हुने संयोजक कोइरालाले जानकारी दिए । ‘अहिले प्रारम्भिक चरणको पत्रकार सम्मेलन गरिएको हो । दोस्रो पटक हुने सम्मेलनमा गोल्डकपमा कुन–कुन टिमले भाग लिने भन्ने सबै तयारी गरिनेछ’–उनले भने ।
प्रतियोगितामा विदेशी टिमको सुनिश्चित नभए पनि भारत र क्यामरूनसहित स्वदेशी ‘ए’ डिभिजनका टिमहरूसँग कुरा भइरहेको आयोजकको भनाइ छ । प्रतियोगितामा आयोजक टिम पनि सहभागी हुने भएको छ । त्यसको लागि पनि खेलाडी जुटाउने काम भइरहेको संयोजक कोइरालाले बताए । ‘गोल्डकपमा आयोजकको टिम पनि सहभागी हुनेछ । आयोजक टिममा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरू सम्मिलित हुनेछन्’–उनले भने ।
गोल्डकप ट्रष्टले विगतका वर्षहरूमाभन्दा यस वर्षको गोल्डकप विजेताले पाउने पुरस्कारराशि पनि बढाउने आयोजकको भनाइ छ । यो वर्ष गोल्डकप विजेता टिमले २० लाख ५१ हजार र उपविजेता टिमले १० लाख ५१ हजार राशिको पुरस्कार पाउने बताइएको छ । छैठौं संस्करणमा गोल्डकप विजेता टिमले १५ लाख १५ हजार र उपविजेता टिमले ७ लाख ५१ हजार रुपैयाँ पाएको थियो ।
छैठौं संस्करणमा विराट गोल्डकपको उपाधि विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाडौंले जितेको थियो । पाहुना टोली भारतको पञ्जाव पुलिसलाई १–० ले हराउँदै एपीएफले उपाधि जितेको थियो ।