भद्रपुर । मेचीनगर नगरपालिकाले नगरभित्रका मेची निन्दा र हडियाँ खोलाबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्ने सवारी साधनलाई पक्राउ गरी धमाधम कारबाही शुरु गरेको छ । कारबाही स्वरुप कार्यालयले दशदिनको अवधिमा २ लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको नगरकार्यपालिका सदस्य एवम् पूर्वाधार विकास समिति संयोजक चित्रकुमार धिमालले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार कात्तिक १५ देखि माघ १० गतेसम्म नियन्त्रणमा लिएका ट्याक्टर ट्रिपर र इस्काभेटर स्थानीय प्रहरी प्रशसान, अनुगमन समितिले पक्राउ गरी नगरपालिकामा कारबाहीका लागि बुझाएको थियो । ती सवारी साधनबाट कारबाही गर्दा २ लाख ३५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो ।
अवैधरुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्ने सवारी साधनलाई कारबाही गर्ने नगर कार्यपालिकाको निर्णय छ । निर्णय अनुसार यसरी ढुङ्गा, गिट्टी बोक्ने ट्याक्टरलाई १० हजार रुपैयाँ, ट्रिपर २० हजार बालुवा, पुरुवा बोक्ने ट्याक्टरलाई ५ हजार जरीवाना गर्ने निर्णय भएको संयोजक धिमालले बताए ।
उनले दशदिनमा ट्याक्टर १२ वटा, ट्रिपर ६ वटा र स्काभेटर एउटा सशस्त्र प्रहरी बल नेपाल वीओपी तिरिङ, ज्यामिरगढी, प्रहरी चौकी भृकुटी, अनुगमन समिति र नगरप्रहरीको टोलीले नियन्त्रणमा लिइएको थियो । नगरभित्र मेची, निन्दा, टिमाई र हडियाँ खोला पर्छन् । नगरपालिकाले कुनै पनि नदीमा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको उनको भनाई छ । तर, नगर विकासको लागि भने नगरपालिकाभित्रको स्काभेटर प्रयोग गर्न सक्ने बताइएको छ । हडिया खोलाबाट अवैधरुपमा स्काभेटर प्रयोग गरेर नदी उत्खनन गदैगर्दा नियन्त्रणमा लिएको एउटा स्काभेटर र ट्रिपर नगरपालिकाको नियन्त्रणमा छ । त्यसबाट ४५ हजार राजस्व सङ्कलन हुने उनको भनाई छ ।