भद्रपुर । जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको भद्रपुर झापा गोल्डकप सञ्चालनकालागि खेलमैदानलाई खेल्न योग्य बनाउने काम तीब्र गतिमा भइरहेको छ । मेची रङ्गशालामा हुने गोल्डकपको समय नजिकै आइरहेको अवस्थामा खेल मैदानसहित आवश्यक पूर्वाधार मर्मत कार्य धमाधम भइरहेको हो ।
खेलमैदानमा घाँस रोप्ने, खाल्डा खुल्डी पुर्ने, अस्थायी प्याराफिट निर्माण ,रङ रोगन , स्थायी प्याराफिटमा ट्रस्ट निर्माण लगायतका काम भइरहेको भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । खेल सम्पन्नका लागि आवश्यक पुर्व तयारीमा खटिइरहेको उनले जनाए ।
प्रतियोगिता भव्य ढङ्गले सफल तुल्याउन सि.जि.ग्रुपको उत्कृष्ट उत्पादन मुस्ताङ लगायतको मुख्य स्पोनसर(प्रायोजक)मा सञ्चालन हुने उनले जनाए । त्यसैगरी रामरेखा तथा लक्ष्मणप्रसाद ढकाल स्मृति पुरस्कार, हेरिटेज ,सौर्य एयरलायन्स तथा ओमसाई अस्पतालका दिपक पोखरेल ,सुर्य प्लाईउड ईण्डष्ट्रिजका ओमप्रकाश सरावगी, देवानन्द सरावगी र नन्दु सरावगी, त्रिशक्ती ग्याँसका आदित्य पराजुली, सिङ्गापुर बेभरेज नेपाल प्राली मेचिनगर–१४ रमेश शर्मा, स्व.भैरबबहादुर रिमाल मेची अञ्चल खेलकुद बिकाश समितिका पुर्व सदस्य सचिव र स्वर्गीय मनोज रिमाल भद्रपुर–८ को स्मृतिमा सहयोग प्राप्त हुने उनले जानकारी दिए । खेलसम्पन्नका लागि विभिन्न उद्योगी, व्यवसायी, खेलप्रेमी, समाजसेवीबाट सहयोग आइरहेको उनले बताए ।
आजिवन सदस्यका लागि १५ हजार र साधारण सदस्य बन्नेलाइ ३ हजार रुपैयाँ तोकिएको उनले बताए । नेपाल तथा भारतका समेत खेलप्रेमी दर्शकलाई मध्यनजर गर्दै यातायात तथा सुरक्षा व्यवस्था मिलाउने जनाए । खेल सम्पन्न गर्न १ करोड ५० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
भारत तथा भुटानका गरी १० टिमको सहभागिता हुने गोल्डकपमा खेल व्यवस्थापन, पुरस्कार तथा सम्मान र खेलाडी व्यवस्थापनका लागि एक करोड ५० लाख रुपैयाँ खर्च हुने भएको हो ।
आयोजक टिम भद्रपुर ११ मा नेपाल तथा क्यामरुनका ख्यातिप्राप्त ए डिभिजनका खेलाडी सहभागी हुने श्रेष्ठको भनाइ छ । यस्तै नेपाल आर्मी ,नेपाल पुलिस, सशस्त्र प्रहरी, सङ्कटा, मनाङमस्र्याङ्दीलगायतका नेपालका ख्यातिप्राप्त ए डिभिजन टिमको प्रतियोगितामा सहभागिता रहने छ । प्रथम पुरस्कार १३ लाख र द्वितीय पुरस्कार ७ लाख राशिको रहेको छ । गोल्डकपलाई निरन्तरता दिन संस्था विधिवत दर्ता गरिएको छ ।
गोल्डकपमा जेष्ठ नागरिक र अपाङ्गता भएकालाई निःशुल्क हेर्न दिने व्यवस्था मिलाइने छ भने भद्रपुर नगरपालिकाभित्रका सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई समेत आलोपालो खेल हेर्न दिइने श्रेष्ठले बताए ।
भौतिक पूर्वाधार भएर पनि झापाको भद्रपुरस्थित मेची रङ्गशाला दुई दशकयता खेलविहीन अवस्थामा छ । यस्तो शून्यता हटाउन भद्रपुर नगरपालिकाले पहिलो पटक नीतिगत रूपमै बजेटमा समेटेर मेची रङ्गशालालाई चलायमान बनाउन ‘भद्रपुर झापा गोल्डकप’ को आयोजनाका लागि वातावरण तयार पारेको हो । नगरपालिकाको संरक्षणमा भद्रपुर झापा गोल्डकप आयोजक समिति निर्माण गर्दै यही फागुन ७ गतेबाट राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी सहभागी हुने गरी ए डिभिजन स्तरीय प्रतियोगिता सम्पन्न हुन लागेकोमा स्थानीय नागरिकमा उत्साह थपिएको छ ।
सुस्त बन्दै गएको भद्रपुरको आर्थिक तथा व्यापारिक गतिविधि बढ्नेमा स्थानीय विश्वस्त हुने वातावरण बन्दै गइरहेको नगर प्रमुख गणेश पोखरेलको भनाइ छ । ओझेलमा परेको रङगशालालाइ परिचित गराउन र पलायन हुदै गइरहेका खेलाडीलाइ बचाइराख्न खेल आयोजना गरिएको आयोजक समितिका अध्यक्ष दिपेश ढकालले बताए । रङ्गशालामा निर्माण भएका धेरै सामग्री जीर्ण रहेकोले मर्मत कार्य सञ्चालन भइरहेको उनले बताए ।