पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले महिला उद्यमी उत्पादन गर्ने उदेश्यले अचार बनाउने तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्तरर्गत कुम्मायक १ का वडाबासी महिलालाई सात दिने अचार बनाउने तालिम संचालन गरेको थियो ।

गाउँपालिकाले संघीय ससत्त अनुदानको २ लाख रुपैयाँबाट वडाका १५ जना महिला उद्यमी उत्पादन गर्ने उदेश्यले तालिम संचालन भएको हो । गाउँ घरमा पाइने अमला, बयर, कागती लगायत ६ प्रकारको अचार बनाउने तालिम दिएको उद्यम विकास सहजकर्ता नारायण सुवेदीले बताए ।

सात दिनसम्म संचालन भएको तालिमले शिप, ज्ञान र क्षमता विकास भएको भन्दै सहभागिले आफुहरुले उत्पादन गर्ने अचारले बजार मुल्य पाउने पर्नेमा पालिकाको ध्यानकर्षण गराएका थिए ।

सहभागिको प्रश्नको जवाफ दिदै कुम्मायक–१ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले गाउँपालिकामा खेर गएको कर्चापदार्थलाई प्रयोग गरी शिपमूलक तालिम मार्फत उद्यमी बनाउने बताए । उनले पालिकाले कोशेली घरको स्थापना गर्न लागेको बताउदै उद्यमीले उत्पादन गरेको अचारको मुल्य निर्धारण गर्ने प्रतिवद्धता जनाए ।

गाउँपालिकाले तालिमको सहजकर्तालाई प्रशंसा पत्र र सहभागिलाई प्रमाण पत्र बितरण गरेको थियो । तालिमको सहजिकरण खोटाङ जिल्ला महिला उद्यमी संघ अध्यक्ष बिमला राई र सदस्य चन्द्रकला भुजेलले गरेका थिए ।