धरान । सडकको मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउने अभियानमा स्थानीयले साथ दिएका छन् ।

विराटनगर महानगरपालिकाले सडकको मापदण्ड विपरीत बनाएका संरचनालाई हटाउने अभियान चलाएको थियो । उक्त अभियानअन्तर्गत मुख्य सडक कोसी लोकमार्गमा पर्ने सडकभित्रका संरचनाहरू भत्काउन थालिएको थियो ।

विराटनगरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि अभियान चलाएकोमा स्थानीय आफैले सडक मापदण्ड विपरीतका संरचना तथा भवनहरू भत्काई सहयोग गरेको नगर प्रमुखका प्रेस संयोजक मीनकुमार नवोदितले जानकारी दिए । उनका अनुसार सडक मापदण्डमा परेका संरचना स्थानीय आफैले भत्काउन थालेका छन् ।

सडक छेउछाउमा साना–साना टिनका टहरा निर्माण गरी सडकको सौन्दर्य नष्ट गरिएकाले हटाउने अभियान थालिएको संयोजक नवोदितले जानकारी दिए । सार्वजनिक जग्गा मिचेर बनाएका घर र टहरासमेत महानगरले हटाउने अभियानलाई जारी राखेको छ ।

विराटनगर–७ स्थित हाटखोला चोकदेखि सिङ्घिया पुलसम्मको संरचना हटाउन तीनवटा डोजरसहित महानगरको टोली पुगेको थियो । महानगरको टोली पुग्दा स्थानीय बिहानैदेखि सडक मापदण्डमा परेका टहरासहितका संरचना हटाइरहेका थिए । त्यसपछि महानगरको टोलीले आरोहण गुरुकुलअगाडिको संरचना हटाएको थियो ।

सो क्रममा स्थानीयले महानगरको अभियानमा साथ दिन तयार रहेको बताएका थिए । महानगरले सबैलाई समान व्यवहार गरे अभियानमा सदैव साथ रहने उनीहरूले प्रतिबद्धतासमेत जनाएका थिए । विराटनगरलाई सफा, सुन्दर, हराभरा, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानमा साथ दिन मेयर नागेश कोइरालाले आग्रह गर्दै आएका छन् ।