देउराली । धरानका विभिन्न वडा कार्यालयसहित उपमहानगरको मुख्य कार्यालयमा कोशी प्रदेश नामकरणविरुद्ध सङ्घर्षरत पहिचानवादी आन्दोलनकारीहरूले आज तालाबन्दी गरेका छन् ।
आन्दोलनकारीहरूले उपमहानगरपालिकाको मुख्य गेटमा कालो झण्डा राखेर नाराबाजी गर्नुका साथै कोशी प्रदेश लेखिएको लेटर प्याड आगजनी समेत गरेका छन् । उनीहरूले धरानका ५, १५, १२ नम्बरको वडा कार्यालयमा समेत कालो झण्डा राखेर तालाबन्दी गरेका हुन् ।
प्रदेश १ पुनः नामाङ्कन संयुक्त संर्घष समितिले आयोजना गरेको गते चैत ५ गते आन्दोलनको क्रममा घाइते भएका लिम्बुवान भोलेन्टियर केन्द्रीय सह–कमाण्डर पदम लिम्बूको मृत्यु भएपछि आन्दोलनका थप सशक्त बनेको छ ।
आन्दोलनकारीहरूले लिम्बूलाई राष्ट्रिय शहीद घोषणा गर्नुपर्ने माग राख्दै, प्रदेशको पुनः नामकरण गरेर आफ्ना माग पूरा नभएसम्म मृतकको शव जिम्मा नलिने बताउँदै आएका छन् । लाठीले टाउकोमा लागेर घाइते भएका मृतक लिम्बूलाई ८ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुर्याइको थियो । शुक्रबार बिहान अढाई बजे लिम्बूको मृत्यु भएको थियो ।

'कोशी' नामकरणपछि प्रदेशसभाका सदस्यलाई बहिष्कार गर्दै आएका आन्दोलनरत पक्षले यस अघि नै गाउँपालिका र वडाहरूमा तालाबन्दी गर्ने, कालो झण्डा राख्नेलगायत आन्दोलनको कार्यक्रमहरू सार्वजनिक गरेको थियो ।