धरान । नेवार एकता समाज केन्द्रीय कार्य समितिले वार्षिक कार्यक्रम तथा योजना २०८० सार्वजनिक गरेको छ ।
योजनाअनुसार एक वर्षभित्र गर्ने कार्यको विवरण सार्वजनिक गरेको छ । हालै निर्वाचित नयाँ कार्य समितिले ११ बुँदे कार्ययोजना बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । समाजका प्रवक्ता भोला श्रेष्ठले १६ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई मादक पदार्थ तथा धूमपान बिक्रीवितरण बन्देज लगाउनका लागि विशेष सचेतनामूलक कार्यक्रम गरिने बताए । त्यस्तै धरानलाई लागूपदार्थ दुव्र्यसनमुक्त सहर निर्माण गर्नका लागि विविध कार्यक्रम गर्ने उनले बताए ।
त्यस्तै विपन्न तथा असहाय युवायुवतीहरूलाई उच्च शिक्षा अध्ययनको अवसरबाट बञ्चित हुनु नपर्ने अवस्था सिर्जना गर्ने जनाइएको छ । त्यस्तै विद्यालय जाने उमेरका बालबालिका तथा विद्यालय नगएका बालबालिकाहरूलाई विद्यालय भर्ना गराउने र नियमित विद्यालय पठाउने व्यवस्था गर्ने अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार वृद्धवृद्धाहरूलाई सम्मानित एवम् उनीहरूको जीवन सार्थक बनाउने कार्यक्रम गर्ने भएको छ ।
त्यस्तै अन्तरजातीय वैवाहिक सम्बन्धमा रहेका नेवार चेलीहरूको तथ्याङ्क सङ्कलन गरेर उनीहरूलाई सङ्गठित र सशक्तीकरण गर्ने जनाइएको छ । समाजलाई धरानबाट प्रदेशस्तरीय बनाउने तयारी गरिएको छ । त्यस्तै नेवार परिवार र समाजमा जन्मदेखि मृत्युसम्मका संस्कार नेवारी परम्परा र विधिअनुसार गराउन अभिप्रेरित गरिने भएको छ । रुग्ण उद्योग तथा व्यवसायलाई परामर्श र नयाँ व्यवसाय स्थापना गर्ने अभियान सञ्चालन गर्ने भएको छ ।
त्यस्तै नेवार एकता समाजको सदस्य सङ्ख्या एक वर्षमा ५ हजार पु¥याइने भएको छ । एक वर्षभित्र समाजको भवन निर्माणार्थ उपयुक्त स्थानमा जग्गा खरिद वा प्राप्तिको व्यवस्था गर्ने भएको छ ।
यसैबीच समाजको उद्देश्य प्राप्तिका लागि २२ वटा विभिन्न उपसमिति गठन गरिएको छ । उक्त समितिले आ–आफ्नो जिम्मेवारी निभाउने महासचिव दीपेन्द्र श्रेष्ठ कसजूले जानकारी दिए ।