धनकुटा । धनकुटास्थित निशान भगवती मन्दिरमा शक्तिस्वरूपा भगवतीको पूजा आराधना गरी चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशंै बुधबार मनाइएको छ ।
चैते दशैँको दिन देवीपुराण, दुर्गा सप्तशती (चण्डी) लगायत देवीमहात्म्य पाठ गर्ने परम्परा रहेको छ । त्यस्तै पायक पर्ने शक्तिपीठहरूमा देवीको पूजा आराधना गर्ने चलन छ । नवरात्रमा विशेषगरी शक्तिस्वरूपा भगवती नवदुर्गाको पूजा आराधना गरिन्छ । भगवतीका ९ स्वरूपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको उपासना गरिन्छ ।
चैते दशैँको अवसरमा धनकुटाको निशान भगवती मन्दिरमा मौलो परिवर्तन गरी पूजा गरिएको छ । नेपाली सेनाको धनकुटा सल्लेरीस्थित भीमदल गणको आयोजनामा मौलो परिवर्तन गरी पूजा गरिएको हो । भीमदल गणका मेजर पूर्ण प्रजापतिले निशान मन्दिरको मौलोमा पूजाआराधना तथा मौलो परिवर्तन गरे ।
मौलो पूजा गर्दा तथा बलि दिँदा निशानलाई बाहिर निकालेर पूजा गरिएको थियो । पूजा विसर्जनपछि निशानलाई मन्दिर प्रस्थान गराइएको थियो । पूजामा बलि दिँदा तोप सलामी दिइएको थियो । सो अवसरमा उपस्थित सबैलाई पुजारीबाट टीका तथा प्रसाद वितरण गरिएको थियो ।
सो अवसरमा भीमदल गणका प्रमुख सुमन थापालगायत सुरक्षा निकायका प्रमुख तथा स्थानीयको उपस्थिति थियो । नेपाली सेनाले दशैँ तथा चैते दशैंको अवसरमा हरेक वर्ष निशान भगवती मन्दिरमा मौलो पूजा गर्दै आएको छ । यसैबीच नेपाली सेनाको भीमदल गणले धनकुटा–६ स्थित दक्षिणकाली मन्दिरमा पनि बोका बलि दिएर पूजा आराधना गरेको थियो ।