पाँचथर । पाँचथरको याङ्वर गाउँपालिकाले उपाधि बिजेता खेलाडीलाई नगद रुपैयाँ सहित सम्मान गरेको छ । गाउँपालिकाको सामुदायिक हलमा आयोजित खेलाडी सम्मान कार्यक्रममा पालिकास्तरीय चौथो कुम्मायक गोल्डकप फुटवल प्रतियोगिताको बिजेता गाउँपालिकाका खेलाडीहरुलाई सम्मान गरेको हो । गाउँपालिकाले खेलाडीहरु, टिम प्रशिक्षक तथा ब्यवस्थापकलाई जनही रु. ५ हजार पुरस्कार सहित सम्मान गरेको हो । त्यस्तै प्रथम पुरस्कार बापतको १ लाख ११ हजार १११ रुपैयाँ नगद पनि पालिकाले खेलाडीलाई प्रदान गरेको थियो । 

विजेता खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या (सुवास), उपाध्यक्ष बाबा मेन्याङ्बो प्रमुख प्रशासकीय अधिकृत सुमन लिङदेन लगायतले नगद सहित खादा र प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका हुन । उपाधि बिजेता खेलाडीहरुलाई जनप्रतिनिधि, कर्मचारी र स्थानीयले साँस्कृतिक झाँकी सहित थर्पुमा स्वागत गरेका थिए । स्वागतपछि थर्पुस्थित सामुदायिक भवनमा खेलाडीहरु, टिम प्रशिक्षक तथा ब्यवस्थापकहरुलाई सम्मान गरिएको हो । 

प्रतियोगिताको आयोजक कुम्मायक स्पोर्टिङ क्लबले विजेता खेलाडीको टिमलाई याङवरक गाउँपालिकासम्म पु¥याएको थियो । खेलाडीहरुको सम्मानका लागि खेलाडीलाई गाउँपालिकाको केन्द्रसम्म पु¥याइएको आयोजक क्लबका अध्यक्ष रोहन घिमिरेले वताए ।

अध्यक्ष घिमिरेले खेलाडी प्रोत्साहन स्वरुप गाउँपालिकाले सम्मान गरेको भन्दै खुशी ब्यक्त गरे । उनले खेलकुद क्षेत्रको विकासको क्षेत्रमा ध्यान दिन आग्रह समेत आग्रह गरे । सम्मानपछि खेलाडीहरुले आफ्नो क्षमता र प्रतिभावान खेलाडी विदेशिनु पर्ने, रोजगारीका लागि अन्यत्रै जानुपर्ने अवस्था अन्त्य गर्न र प्रशिक्षणको ब्यवस्था गर्न माग गरेका थिए । गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्बोले पालिकास्तरको प्रतियोगिताको च्याम्पियन बनाएर याङवरकका खेलाडीले ठूलो योगदान दिएको वताइन् ।

याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्या (सुवास)ले विगतमा आफू पनि खेलाडी भएको स्मरण गर्दै खेलाडीहरुका समस्या समाधानमा लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । पालिकास्तरीय प्रतियोगिताको उपाधि जितेपछि याङवरकको भागमा धेरै जिम्मेवारी आइपरेको भन्दै उनले खेलकुदको प्रवर्द्धन गर्ने प्रभावकारी योजना र खाका तयार गर्न सरोकारवाला सबैलाई आग्रह गरे । उनले थपे “हामी अव वडा स्तरमा खेलकुदको विकासका गर्न योजना अघि बढाउँछौ । बिगतमा भएका कमीकमजोरी सच्याउछौ । र अर्को पटकको उपाधि जित्ने बाताबरण बनाउँछौ । यो बिषयमा वडाध्यक्षहरु र खेलाडी तयार भएर बस्न आग्रह गर्छु ।”

उपाधि बिजेतासँगै याङवरकका जमिन लिम्बू प्रतियोगिताको उत्कृष्ट खेलाडी, सुमन योङ्या उत्कृष्ट फरवार्ड, पुुष्कर काम्बाङ फाइनल खेलको उत्कृष्ट खेलाडी, रविन बेघा उत्कृष्ट गोलकिपर र तुफान क्षेत्री उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । प्रतियोगिता सम्पन्न गर्न याङवरक गाउँपालिकाले आयोजक कुम्मायक स्पोटिङ क्लवलाई नगद ५१ हजार सहयोग गरेको छ ।