पाँचथर ।  फिदिम नगरपालिका—५ सर्सिउलाकी एकल महिला कोपिला शिवा उमेरले २३ वर्ष पुगिन । आठ वर्षको अन्तरमा उनि तीन सन्तानको आमा बन्न पुगिन । १५ वर्षको उमेरमा बिवाह बन्धनमा बाधिएकी कोपिलाका ६ र ७ वर्षका दुई छोरी र एक छोरा छन । श्रीमानले कमाएको पैसामा परिवारको गर्जो टरेको थियो ।

तर अचानक श्रीमानको मृत्युपछि त्यो जिम्मेवारी उनको काधमा आयो । जीर्ण घर र आफ्नो नाममा जग्गा जमिन नभएपछि उनि ज्याला मजदुरी गरेर परिवारको गर्जो टार्न थालिन । आर्थिक अवस्था कमजोर भएको र छोरा छोरीको लालनपालनमा समस्या भएपछि जनसेवा समाज पाँचथरले फिदिम नगरपालिका, वडा कार्यालयसंग समन्वय गरी कोपिलाको घर निर्माण गरिदिएको छ ।

भने उनका दुई छोरी किस्मि र आरोहीको अध्ययनका लागि फिदिम नगरपालिकाले आवसीय बिद्यालयमा भर्ना गरिदिने भएको छ । “मेरो नयाँ घर निर्माण भयो । छोरीको भबिष्यको लागि निशुल्क पढ्ने व्यवस्थापन भयो । कोपिलाले भनिन् राजेन्द्र अधिकारी र फिदिम नगरपालिकाको यो सहयोग कहिलै बिर्सिन ।” 

कोपिलाको घर निर्माणका लागि फिदिम नगरपालिकाले जस्तापाता, काँटी उपलब्ध गराएको थियो । फिदिम–५ वडा कार्यालयले काठ र ढुवानीको व्यवस्थापन गरेको थियो । फिदिम स्थित नेपाली सेनाको रणशेस गणले घर निर्माणका लागि जनशक्ति सहयोग गरेको जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए ।

एक कार्यक्रमका बीच फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले कोपिलालाई घर हस्तान्तरण गरेका थिए । 

श्रीमान् लक्ष्मण शिवाको ट्याक्टर दुर्घटनामा परी मृत्यु भएपछि दुई छोरी र एक छोरासंग कोपीला भत्कन लागेको घरमा बस्दै आएकी थिईन् । अहिले भने उनी भर्खरै निर्माण गरिएको दुई कोठे घरमा बस्दै आएकी छन ।