जनता समाजवादी पार्टी(जसपा) का सङ्घीय परिषद् अध्यक्ष अशोक कुमार राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् । सुनसरी १ धरानबाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष निर्वाचनमा निर्वाचित भएका राईले उपप्रधानमन्त्रीसहित २ मन्त्रालयको जिम्मेवारी दिइने भए पनि पुनर्गठित मन्त्रालयको अन्तिम नामावलीमा उनको नाम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मात्र रहेको छ ।
राईसहित नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
शपथ ग्रहण गर्नेहरूमा नेपाली काँग्रेसका उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा प्रकाश शरण महत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा रमेश रिजाल र सहरी विकास मन्त्रीका रूपमा सीता गुरुङ छन् ।
यस्तै, नेकपा (माओवादी केन्द्र)का शक्तिबहादुर बस्नेतले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । ११ पुसमा भौतिक पूर्वाधार मन्त्री भएका नारायणकाजी श्रेष्ठको भने उपप्रधानमन्त्री तथा गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नेकपा (एकीकृत समाजवादी) का तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रीमा वेदुराम भुसाल र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीका रूपमा प्रकाश जवालाले शपथ लिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीकातर्फबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् ।
भने, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री र नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी पाएका छन् ।