पथरी । सामुदायिक वन उपभोक्ता महासङ्घ कानेपोखरीमा नवीन राई र पथरीशनिश्चरेमा मैनादेवी फुँयाल सर्वसम्मत चयन भएका छन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घको दोस्रो अधिवेशनले दुवैजनालाई सर्वसम्मत चयन गरेको हो । शुक्रबार ग्रामीण सामुदायिक वन समूहको सभाहलमा अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनले १३ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गणेश मादेन, सचिवमा सपना पुरी र कोषाध्यक्षमा रेजिना ठकुरी चयन भएका छन् । त्यसैगरी सदस्यहरू सिर्जना विष्ट र माया सुब्बा रहेका छन् । बाँकी रहेका सदस्यहरू समितिको पहिलो बैठकले पूरा गर्ने महासङ्घ कानेपोखरीका निवर्तमान अध्यक्ष कृष्ण थामीले बताए ।

अधिवेशनले ३ जना महिला र ३ जना पुरुष गरी जम्मा ६ जना जिल्ला प्रतिनिधि पनि चयन गरेको छ । कृष्ण थामी, अभिनारायण लुइटेल, विशाल तिरुवा, सिर्जना विष्ट, रेजिना ठकुरी र टङ्कमाया लुइटेललाई चयन गरेको हो । त्यसैगरी प्रदेश प्रतिनिधिमा नवीन राई, सुनिता तामाङ, कमला विकलगायत ६ जना चयन भएका छन् । कृष्ण थामीको सभापतित्व तथा वडा नं. ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । अन्य अतिथिहरू महासङ्घ प्रदेश अध्यक्ष तुलसी सङ्ग्रौला, वन अभियन्ता रेणुका दाहाल, महासङ्घका जिल्ला अध्यक्ष रामकृष्ण राई र पूर्ण अधिकारीले मन्तव्य व्यक्त गरे । कार्यक्रममा अध्यक्ष कृष्ण थामीले ९२ हजार आय–व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए । ५ हजार १ सय ५० रकम बचत रहेको उनले बताए ।

महासङ्घ कानेपोखरी गाउँपालिका अन्तर्गत ५ वटा वन समूह रहेका छन् । ग्रामीण सामुदायिक वन समूह, जनजागृति सामुदायिक वन समूह, ज्योति सामुदायिक वन समूह, लक्ष्मी सामुदायिक वन समूह र स्थानीय ग्रामीण सामुदायिक वन समूह रहेका छन् ।

त्यसैगरी महासङ्घ पथरीशनिश्चरेको दोस्रो नगर अधिवेशनले मैनादेवी फुँयाल (आचार्य)को अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा शोभा तिम्सिना, हेमभक्त गुरुङ सचिव र हरि निरौला कोषाध्यक्ष रहेका छन् । त्यस्तै सदस्यहरूमा शान्ती शङ्कर, निरञ्जन मण्डल, कौशिला राई, पुनम नेपाली, रोमान्सी धिमाल, उदयकुमार राई, मञ्जु लिम्बू, लक्ष्मण कार्की, रेनुका अधिकारी, मानबहादुर पाठक, शिवकुमारी भट्टराई र रत्नबहादुर बस्नेत रहेका छन् ।

अधिवेशनले जिल्ला अधिवेशनका लागि मदन पोख्रेल, कौशिला राई, शान्तिराम खड्का, पुनम नेपाली, मानबहादुर पाठक र शोभा तिम्सिनालाई जिल्ला प्रतिनिधिका रूपमा चुनेको छ । त्यसैगरी प्रदेश अधिवेशनको लागि ईश्वर चौहान, आरती राई, रत्नबहादुर बस्नेत, रोमान्सी धिमाल, हेमभक्त गुरुङ र सीता भुषाललाई प्रदेश प्रतिनिधिका रूपमा छनौट गरेको छ । कार्यक्रममा ८ वटा वन समितिबाट २ महिला र २ पुरुष गरी ३२ प्रतिनिधि सहभागी रहेका थिए ।

महासङ्घका कोशी प्रदेश सचिव अग्नि पौडेलको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा नगरका विभिन्न ८ वटा सामुदायिक वनका प्रतिनिधिको सहभागिता रहेको थियो ।