भद्रपुर । भद्रपुर नगरपालिकाले नगर क्षेत्रमा रहेका सन्थाल समुदायको स्वास्थ्य उपचारका लागि निःशुल्क बिमाको व्यवस्था गरिदिएको छ ।

नगरपालिकामा सोमबार एक कार्यक्रमको आयोजना गरी नगर कार्यपालिकाले नगर क्षेत्रमा रहेका ६ सय ३४ सन्थाल परिवारका लागि २२ लाख १९ हजार रकम स्वास्थ्य बिमा कार्यालयलाई प्रदान गर्दै निःशुल्क उपचारको प्रबन्ध गरिदिएको हो ।

नगर प्रमुख गणेश पोखरेलको नेतृत्वमा नगर कार्यपालिका सवै पदाधिकारीको उपस्थितिमा स्वास्थ्य बिमा बोर्डका कर्मचारीलाई रकम हस्तान्तरण गरिएको थियो ।

भद्रपुर नगरपालिका भित्र ६ सय ३४ घर परिवार रहेको सन्थाल समुदायको दुई हजार ५ सय २२ जनसङ्ख्या रहेको छ । सो समुदायका सवै नागरिकले स्वास्थ्य बिमा मार्फत निःशुल्क उपचार पाउने गरी रकम बुझाइएको नगर प्रमुख पोखरेलले जानकारी दिए ।