मोरङ । विराटनगर–८ स्थित हलेसी महिला सशक्तिकरण सेवा केन्द्रले आयोजना गरेको उद्घोषण तालिमको समापन भएको छ ।विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा शुक्रबारदेखि सुरु भएको तालिम मङ्गलबार सम्पन्न हो ।
समापन कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गरेका छन् । तालिम लिइसकेपछि धेरैजसोमा बिर्सिने संस्कार रहेको गुनासो गर्दै उनले भने, ‘तालिममा सिक्नु ठूलो कुरा होइन, सिकेको सीपलाई व्यवहारमा लागू गर्नु चाहिँ ठूलो कुरा हो ।’
तालिममा सहभागीहरूलाई मेयर कोइरालाले प्रमाण–पत्रसमेत प्रदान गरे । पत्रकार धीरज दाहालले सहजीकरण गरेको तालिममा वडानम्बर ८ का २० जना महिलाको सहभागिता रहेको आयोजक संस्थाकी अध्यक्ष सीता बरालले जानकारी दिइन् । तालिममा सहभागीहरूले अब जस्तोसुकै कार्यक्रममा पनि बोल्न सक्ने भएको अनुभव सुनाएका थिए ।