विजयपुर । धरान– ९ को वडा कार्यालयले दलित महिलाहरूलाई सौन्दर्यकला सम्बन्धी तालिम आयोजना गरेको छ ।

बुधबार कार्यालयले इन्टरनेशनल ट्रेनिङ एकेडेमीको सहकार्यमा धरान–९ का दलित महिलाहरूलाई तालिम दिइरहेको जनाएको हो । धरान–९ का अध्यक्ष रूपेश आचार्यले दलित महिलाहरूलाई सीप सिकाएर व्यवसायी बनाउँदै आत्मनिर्भर बन्न उत्प्रेरित गराउने उद्देश्यले तालिम आयोजना गरेको बताए ।

धरान–९ का वडासदस्य अन्जना बिशङ्खेले वडामा रहेका दलित महिलाहरूका लागि मात्र बजेट भएकाले अहिले ७ जनालाई तालिम दिएको बताइन् । उनले दलित महिलाको क्षमता अभिवृद्धि गरी आर्थिक उपार्जनमा लगाउने लक्ष्य रहेको बताइन् । तालिमको लागि ७० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यही चैत २ गतेदेखि सुरु भएको तालिम आगामी जेठ २ गतेसम्म सञ्चालन हुनेछ । इन्टरनेशनल ट्रेनिङ एकेडेमी धरानले हालसम्म आधारभूत, एड्भान्स एण्ड डिप्लोमा, ब्युटिसियन तालिम, नेल टेक्निसियन, सेल्फ मेकप, हेयर कटिङ, प्रोफेशनल मेकप, स्पेशल मेन्हदी, माइक्रो ब्लेडिङ, आई ल्यासेस, हाइड्रा फेसियल, केराटिन स्ट्रेट, इयरलोबल रिपेयर, मोल रिमुभल, एड्भान्स रसियन जुरो, ब्लो ड्राई सेटिङ, स्किन टेस्ट, बिबिगलो ट्रिटमेन्ट गर्ने व्यवस्था रहेको सञ्चालक निलम बस्नेतले बताइन् ।

एकेडेमीले टाढाका सहभागीलाई होस्टेलको व्यवस्था, तालिम सकिएपछि जागिरको व्यवस्था गर्ने उनले बताइन् । सैद्धान्तिक र व्यावहारिक कक्षा सञ्चालन गर्ने उनको भनाइ छ ।