वराहक्षेत्र । अन्तरजातीय विवाह गर्ने वराहक्षेत्र नगरपालिकामा ३ जोडी युवायुवतीलाई सम्मान गरिएको छ ।

नेपाल संयुक्त दलित समाजले बुधबार चक्रघट्टीमा आयोजना गरेको छुवाछुतमुक्त समाज निर्माणको लागि सञ्चालन गरेको ३ महिने लामो अन्तरघुलन कार्यक्रमको समापनमा २–२ जना मधेशी तथा पहाडी दलित र आदिवासी थारु समुदायका उनीहरूलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरूमा वडा नं. ५ का रोशन विश्वकर्मा र सिर्जना राजधामी, वडा नं.६ खारसाङ घर भएका सञ्जय शर्मा सुतिहार र धरान–१५ की मीरा विक यसैगरी वडा नं. ९ का सजन राम र सविता चौधरी रहेका छन् । २३ देखि ३० वर्ष उमेरका उनीहरूलाई अतिथिहरू संविधान सभासदस्य अनिता परियार, कोशी प्रदेश सभा सदस्यद्वय सदानन्द मण्डल, सपना परियार र पूर्व प्रदेश सभा सदस्य उमिता बराइली र नगरपालिकाको उपप्रमुख नन्दकुमारी सुनुवारले शल ओढाएर सम्मान पत्रले सम्मान गरेका हुन् ।

अहिले तीन तह सरकार शासन प्रणालीमा समेत स्थानिय तहले समेत जातीय भेदभाव विरुद्ध ऐन नियम बनाइनु पर्ने संविधान सभा सदस्य अनिता परियारले बताइन् । एक्लो दलित समुदायले मात्र नभएर समाजको सबै जातजाति र तहतप्काको इमान्दार प्रयासले मात्र छुवाछुत अन्त्य हुनेमा परियारले जोड दिइन् । प्रदेशसभा सदस्य सदानन्द मण्डलले छिमेकी भारतमा दलित आदिवासी निर्वाचन क्षेत्रको व्यवस्था गरिएको भन्दै नेपालमा पनि त्यस्तै गरिनु पर्ने माग गरे । मण्डलले मानिस मानिसबीच भेद गर्ने विकृति नहटेसम्म हामीले विश्वसँग प्रतिस्पर्धा गर्न नसकिने बताए ।

अर्की सदस्य सपना परियारले जातीय विभेद विरुद्ध संविधानमा यसको कानूनी उपचार, विधि र ऐनको दस्तावेजीकरण गरिए पनि व्यक्ति र समाजको इमान्दार प्रयास विना जातीय छुवाछुत अन्त्य नुहने तर्क गरिन् । वडा नं. ६ स्थित दलित भवनमा रमिला घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

prama