धरान । कोशी प्रदेशको राजधानी रहेको विराटनगर महानगरपालिकाले नयाँ वर्षबाट ध्वनि प्रदूषण नियन्त्रण गर्ने निर्णय गरेको छ ।
वैशाख १ गतेबाट विराटनगरलाई ‘नो हर्न’ नगर बनाउन गत पुस २७ गते बसेको नगरसभाले निर्णय गरेको हो । वैशाख १ गतेबाट ध्वनि प्रदूषण नियन्त्रण गर्ने नगरको निर्णय भइसकेको नगरप्रमुख नागेश कोइरालाले जानकारी दिए । उनका अनुसार केही हप्ताअघि नगरले धार्मिक सङ्घ–संस्था, साउण्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रणका विषयमा छलफल गरेको थियो । छलफलमा सरोकारवालाहरूले डिजे र सवारीको चर्को आवाजमा हर्न बजाउन निषेध गर्नुपर्ने सुझाव दिएका थिए ।
उनले महानगर क्षेत्रभित्र प्रेसर हर्न नबजाइदिन सरोकारवालालाई आग्रह गरेका छन् । ध्वनि प्रदूषण नियन्त्रण गर्न नगरवासीबाट थुप्रै सुझाव आएकाले नगरसभाबाट निर्णय पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए । उनले वैशाख १ गतेबाट प्रेसर हर्न बन्द हुने बताए ।
त्यस्तै सोही दिनबाट सार्वजनिक स्थलमा धूमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायत सेवन गर्न पनि निषेध गरेको छ । त्यसो त सार्वजनिकस्थलमा सुर्ती सेवनलाई यसअघि नै सर्वोच्च अदालतले रोक लगाएको थियो । तर, पनि कार्यान्वयन हुन सकेको छैन ।