बिर्तामोड । ग्लोबल ओरियन्सले आफ्नो कारोबारका क्रममा भएको त्रुटी तत्काल सच्याउने जनाएको छ । बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी ओरियन्सका प्रमुख कार्यकारी निर्देशक बसन्त पण्डितले मुलुकमा रहेका ३० वटै शाखामा तत्काल अनुगमन गर्ने जनाएका छन् ।

ओरियन्सले ठगी गरिरहेको समाचार ब्लाष्ट टाइम्स दैनिक सहितका सञ्चारमाध्यममा प्रकाशन भएपछि ओरियन्सले पत्रकार सम्मेलन गरेर ठगी गर्ने कम्पनिको नीति नरहेको दावी गरेको छ । रोजगार दिने नाममा युवायुवतीलाई ठगी गरिरहेको समाचार प्रकाशन भएपछि झापामा ओरियन्सको गतिविधि लगभग ठप्प भएको छ । युवायुवतीलाई ‘स्मार्ट बिजनेस’ गर्न भन्दै रकम असुलेर बिचल्ली बनाएको समाचार प्रकाशन भएपछि ओरियन्सको गतिविधि झापामा ठप्प भएको हो ।

ओरियन्सका कतिपय कार्यालयहरु बन्द रहेको पाइएको छ । झापाको बिर्तामोडमा नै यस कम्पनिका दर्जनौ कार्यालय रहेका छन् । समाचार प्रकाशनसँगै अधिकांस कार्यालय बन्द गरेर कर्मचारी सम्पर्क बिहिन बनेका छन् । तर, ओरियन्सको बिर्तामोडमा एउटा मात्र कार्यालय रहेको बताएको छ ।

कारोबार सुस्त भएपछि झापा आएका ओरियन्सका प्रमुख कार्यकारी निर्देशक पण्डितले कम्पनिले प्रतिबन्धित नेटवर्किङ ब्यापार सञ्चालन नगरेको दावी गरे । तर, नेटवर्किङ कारोबारका कारण पीडित दर्जनौ युवायुवतीले कम्पनीले भनेजस्तो सुविधा उपलब्ध नगराएको बताएका छन् । उनीहरुले १३ हजार, ४० हजार र १ लाख २० हजार लिएर आफुभन्दा तल सदस्य थप गर्दापनि पहिले गरेको लगानी नउठेको बताएका छन् ।

पण्डितले प्रत्यक्ष बिक्रीको माध्यमबाट युवायुवतीलाई रोजगारी दिएको दावी गरे । उनले कम्पनी आफैले केही सामान उत्पादन गर्ने, केही आयात गर्ने र त्यो सामान बिक्री गर्न लगाएर युवायुवतीलाई रोजगारी दिने गरेकोसमेत दावी गरे । कम्पनीले बिक्री गर्ने गरेको सामान गुणस्तरीय भएको भन्दै पण्डितले कसैले सामान बिक्री गर्न नसकेर लगानी डुवाउन नपर्नेसमेत बताए ।

ओरियन्समा आवद्ध भएपछि तालिम, होस्टेल र आवद्धता शुल्क बुझाउनु पर्ने नियम छ । त्यसपछि दाँया बाँया गरेर तीनतिर सदस्य थप गर्नुपर्ने हुन्छ । हरेक एकजनाले तीनजना सदस्य थप गर्नुपर्ने भएका कारण यो नेटवर्क मार्केटिङ हो । पत्रकार सम्मेलनमा कार्यकारी अधिकृत पण्डित यो बिषयमा प्रवेश गर्नै चाहेनन् । उनले उत्पादन र बिक्रीमा मात्र केन्द्रित रहेर आफ्ना भनाईहरु राखेका थिए ।

ओरियन्सले उच्च शिक्षा अध्ययन गर्दै गरेका युवायुवतीलाई राम्रो रोजगारी दिने प्रलोभन देखाएर मार्केटिङमा लगाउने गरेको छ । तर, प्रतिफल नपाएपछि पढाई सँगसगै समयसमेत बर्वाद भएपछि उनीहरु सञ्चारमाध्यममा आएका थिए । सो गुनासो पछि पण्डितले जवरजस्ती कसैलाई प्रलोभनमा नपारेको र आगामी दिनमा कसैलाई दवाव दिएर सामान बिक्री नगर्न निर्देशन दिने बताएका छन् ।

झापामा लगातार ओरियन्सका गलत काम कारवाहीका बिषयमा समाचार प्रकाशन भएपछि कम्पनीले यहाँ तालिमका लागि आएका युवायुवतीलाई सुनसरीको ईटहरी र चितवन सारेको छ । समाचार स्रोतले उनीहरुलाई उतै काम लगाउने तयारी भइरहेको जानकारी दिएको छ ।