बिर्तामोड । बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महताराले मिश्रित समाजको सांस्कृतिक मौलिकताले नेपालीलाई सहअस्तित्वमा राखेको बताएकी छन् । उनले सबै जातजातिको धर्म, संस्कृति र परम्परालाई सम्मान गर्न सके मात्र समाजको दीगो विकास सम्भव रहेको बताइन् ।

सिरुवा पर्वको अवसरमा राजवंशी महिला समाजले बिर्तामोडमा आयोजना गरेको अन्तरघुलन कार्यक्रममा नगर प्रमुख प्रसाईले यस्तो बताएकी हुन् । कार्यक्रममा राजवंशी महिला समाजले आफ्नो समुदायका दुईजना जनप्रतिनिधि महिलालाई सम्मान गरेको छ ।

राजवंशी समुदायबाट स्थानीय तहको नेतृत्वमा स्थापित गौरीगञ्ज गाउँपालिकाकी प्रमुख फुलवती राजवंशी र गौरादह नगरपालिकाकी उपप्रमुख जलवर्षा राजवंशीलाई कार्यक्रममा सम्मान गरिएको हो । कार्यक्रममा जलवर्षा मात्रै उपस्थित भइन् ।

राजनीतिक रुपमा अगाडि बढ्दै स्थानीय तहको कार्यकारी नेतृत्व सम्हाल्न पुगेका जनप्रतिनिधिलाई सम्मान गरिएको राजवंशी महिला समाजकी केन्द्रीय सचिव शर्मिला राजवंशीले बताइन् । ‘उहाँहरुको नेतृत्वबाट समुदायको गरिमा अझै उचो भएको छ’, शर्मिलाले भनिन्, ‘सम्मान गर्न पाउँदा हर्षित छौँ ।’

कार्यक्रमको अध्यक्षता गरेकी समाजकी केन्द्रीय अध्यक्ष सनम राजवंशी पार्टी प्यालेसमा कार्यक्रम आयोजना गर्दा आलोचना भए पनि अन्य समुदायका महिलासँगको सम्वन्ध विस्तारका लागि अन्तर घुलन कार्यक्रम आयोजना गरिएको बताउँछिन् । औचित्यमाथि प्रकाश पार्दै उनले भनिन, ‘हामीले हाम्रो मौलिक सांस्कृतिक परम्परालाई अन्य समुदायसँग पनि जोड्ने जमर्काे गरेका छौँ ।’