मोरङ । विराटनगर महानगरपालिकाले वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई रोक लगाएको छ ।

महानगरको ११ औं नगरसभाले गत पुस २७ गते सुर्तीजन्य पदार्थ सेवन तथा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो । सोही निर्णयको कार्यान्वयन गर्दै महानगर सुर्तीजन्य पदार्थ सेवन र बिक्री वितरण नगर्न सचेत गराउँदै सूचना जारी गरेको थियो । अटेर गर्नेहरूको सुर्तीजन्य पदार्थ जफतसमेत गर्न सुरु गरेको छ ।

महानगरको टोलीले पसलमै पुगेर सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न आग्रह गरेको छ । चुरोट, गुट्का, खैनीलगायतका सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरलगायतका रोग लाग्नुका साथै फोहोरसमेत हुने भएकाले महानगर कठोर रूपमा उत्रिएको सरसफाइ शाखा प्रमुख पुनम दाहालले बताइन् । सुर्तीजन्य पदार्थको खोलले महानगरको सरसफाइमा ठूलो चुनौती सिर्जना गरेको उनको भनाइ थियो ।

सरसफाइ शाखाका प्रमुख दाहाल, नगर प्रहरीका प्रमुख राजन पौडेलसहितको टोलीले पसलमा पुगेर सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिँदा व्यापारी र स्थानीयले उद्योग नै बन्द गर्नुपर्ने माग अघि सारेका थिए ।

मेयर नागेश कोइरालाले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान सञ्चालन गरिएको बताए । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमाथि गरिएको निषेधको निर्णयलाई कार्यान्वयन गर्न महानगरवासीलाई कोइरालाको आग्रह छ ।