विजयपुर । धरान–१५ तीनकुनेस्थित महाकाल शनि मन्दिरको विषयमा विवाद चर्किएको छ ।

मन्दिरका पुजारी विश्वदेव पोखरेल (काक बाबा) ले सञ्चालक समितिबाट आफू पीडित बनेको भन्दै मङ्गलबार मन्दिरमा पत्रकार सम्मेलन गरे । उनले सञ्चालक समितिले अनावश्यक हस्तक्षेप गर्दा आफू अन्यायमा परेको बताए । तर, शनि मन्दिर तथा विश्वकर्मा बाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजकुमार निरौला भने समितिले कुनै हस्तक्षेप नगरेको बताउँछन् । उनले भने, ‘८ वर्षदेखि उनले हामीलाई छिर्न दिएनन् । अदालतले मन्दिरबाट निकाल्ने फैसला गरे पनि बूढो मान्छे भनेर निकालेका छैनौँ । उनलाई समितिका मान्छे देख्ने बित्तिकै हस्तक्षेप लाग्छ ।’

उनले सुनसरी जिल्ला अदालतले करिब ४ वर्षअघि नै पोखरेललाई मन्दिरबाट निकाल्ने फैसला गरेको बताए । उनका अनुसार व्यवस्थापन समितिले सहयोग रसिद काट्ने गरेको छ । उनले भने, ‘नियम अनुसार लेखापरीक्षण गर्छौं । साधारणसभा पनि गर्छौं ।’

पुजारी पोखरेलले जारी गरेको विज्ञप्तिमा २०६८ सालदेखि काम गर्दै आए पनि अहिले सञ्चालक समितिले धाकधम्की दिएर हटाउन खोजेको उल्लेख छ । २०६८ सालमा आमरण अनसन बसेपछि पुजारी यथावत् कायम गर्नेलगायतका ७ बुँदे सहमति भएको थियो । उनका अनुसार ११ वर्षसम्म पनि सहमति कार्यान्वयन भएको छैन । उनले सहमति कार्यान्वयन नभए अन्य कदम चाल्न बाध्य हुने जनाएका छन् ।

शनि मन्दिर समाजसेवी कृष्णबहादुर शाहीले २०४८ सालमा स्थापना गरेका हुन् । पोखरेलले स्थापनाकालदेखि हालसम्म आफूले मन्दिरमा सेवा गर्दै आएको बताएका छन् । भौतिक विकास निर्माणमा सहयोग जुटाएर हराभरा बनाएपछि समितिको ध्यान मन्दिरतर्फ आकर्षित भएको जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा २०७२ सालमा पनि समितिकै योजनामा मन्दिरका सेवक–सेविकाहरूलाई अनावश्यक लाञ्छना लगाई हुल हुज्जत, कुटपिट गरी निकाल्न खोजिएको उल्लेख छ ।