देउराली । धरान उपमहानगरपालिकाको एक सुधार गृहमा उपचारका लागि राखिएका एक व्यक्तिको मृत्यु भएपछि मृतकका आफन्तले मृत्यु शङ्कास्पद रहेको भन्दै छानबिनको माग गरेका छन् ।
अत्यधिक मदिरा सेवन गर्न तेह्रथुम म्याङ्लुङ गाउँपालिका १ का ३९ वर्षीय अमृत तामाङलाई वैशाख ४ गते धरान १५ स्थित हाम्रो साथी सुधार केन्द्र उपचारका लागि ल्याइएकोमा तामाङको बिहीबार मृत्यु भएको हो।
तामाङको मृत्यु भएसँगै उनको शरीरमा नीलडाम तथा चोटपटक देखिएपछि सुधार केन्द्रले अमानवीय यातना दिएका कारण उनको मृत्यु भएको भन्दै परिवारले छानबिनको माग गरेका हुन् ।
उनीहरूले इलाका प्रहरी कार्यालयलाई छानबिन गर्न माग गर्दै निवेदन समेत दिएको बताएका छन् ।
मृतकका दाजु सुवास तामाङका अनुसार सुधार केन्द्रबाट बिहीबार दिउसो भाइको अवस्था गम्भीर भएको भन्दै फोन आएपछि शुक्रवार (आज) बिहान आइपुग्दा अस्पतालमा बेवारिसे अवस्थामा शव फोला परेको थियो ।
सुवासले भने " हामी अस्पताल पुग्दा डाक्टरहरूले मृत्यु भइसकेको बताए । सुधार केन्द्रको कोहीपनि अस्पतालमा भेटिएनन् । शरीर भरी नीलडाम र चोटपटक छ । हामीले वहाँहरूलाई जिम्मा लगाएका थियौ वहाँहरूले पनि हामीलाई जिम्मा लगाउनु पर्ने थियो । त्यस्तो केही पनि भएन । "
उनेले सुधार केन्द्रले हातखुट्टा बाँधेर उपचार गरेको बताउने गरे पनि शरीरमा देखिएको नीलडाम र चोटपटक हेर्दा अमानवीय यातनाका कारण नै मृत्यु भएको हुनसक्ने बताए ।
सुधार केन्द्रका इन्चार्ज राजकुमार राईले भने बिहीबार दिउसो सवा २ बजे तामाङको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उपचारकालागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको तर आइसियु चाहिने भएपछि प्रतिष्ठानको आइसियु खालि नभएकोले नोबेल रिफर गरेकोमा तामाङको नोबेल हस्पिटल विराटनगर लानेक्रममा बाटैमा मृत्यु भएको बताएका छन् ।
उनले भने " हामीले बिरामी वीपी प्रतिष्ठान लाँदै परिवारलाई जानकारी दिएका थियौ आउनुस् भनेका थियौ । बिरामीको अवस्था क्रिटिकल बन्यो वीपी प्रतिष्ठानले समयमै रिफर गरेको भए उनको मृत्यु हुँदैन थियो । "
राईले मृतकका आफन्तले जस्तो यातना नभएको भए पनि अत्यधिक मदिरा सेवन गर्ने भएकाले मदिरा नपाउँदा छटपटी पूर्ण व्यवहार देखाएपछि सुरक्षा र उपचारका लागी हात खुट्टा भने बाधेको स्वीकार गरेका छन् ।
उनले शरीरमा भएको नीलडाम सुधार केन्द्रमा आउनु अगावैको भएको भन्दै, त्यस अघि नै उनकै ससुरालीबाट उनीमाथि कुटपिट भएको खुलेको पनि बताएका छन् ।
मृतकाका आफन्तबाट छानबिनको माग भएपछि वीपी प्रतिष्ठानमा पोस्टमार्टम भइसकेकोले रिपोर्ट आएपछि सत्य तथ्य खुल्ने इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्लाले बताए ।