बिजयपुर । धरान खानेपानी व्यवस्थापन बोर्डको गाडी दुर्घटनाग्रस्त भएको १५ दिनसम्म पनि गुपचुप राखिएको छ । दुर्घटनाभएपश्चात् चालकलाई कामबाट अचानक हटाएपछि घटनाको रहस्य सार्वजनिक भएको हो ।
धरान खानेपानी व्यवस्थापन बोर्डको प्रदेश नं. १–०२–००१ झ ०७५४ नम्बरको गाडी वराहक्षेत्र–९ स्थित सिन्दुर पुछार भन्ने स्थानमा दुर्घटना भएको चालक तेजकुमार राईले बताए । कोकाहा खोलाको खानेपानी अभियानका लागि सामान लिएर जाने क्रममा चैत २३ गते दुर्घटना भएको उनको भनाइ छ । दुर्घटना भएको भोलिपल्ट अर्थात् चैत २४ गते मात्रै दुर्घटना बिमा गरिएको छ । चालक राईका अनुसार गाडी चैत २३ गते बेलुका ५ बजे सडकबाट करिब ४० मिटर तल खसेको थियो । गुपचुप राखिएको गाडी दुर्घटनाको विषयमा चालक राईलाई खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका धरान नगरप्रमुख राईले कामबाट हटाएसँगै घटना बाहिरिएको हो । नगरप्रमुखसमेत रहेका अध्यक्ष राईले मौखिक रूपमै आफूलाई हटाएको चालक राईले बताए ।
चालक राईले भने, ‘दुर्घटना भएपछि कसैलाई फोटो, भिडियो नखिच्न नगरप्रमुख राईबाट निर्देशन भयो । कसैले फोटो खिचेनन् । म कर्मचारी हो । अध्यक्षको निर्देशन मान्नै प¥यो । त्यसैले सार्वजनिक गर्न सकिनँ, मेरो कमजोरी भयो ।’ चैत २३ गते दुर्घटना भएको गाडीको चैत २४ गते धरान–१० स्थित सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा बिमा गरिएको छ । चालक राईले दाबी गरेजस्तै बिमा कम्पनीले पनि स्वीकार गरेको छ । बिमा कम्पनीका शाखा इन्चार्ज सुनिता रिजालले २४ गते बिमा गरिएको स्वीकारिन् । इन्चार्ज रिजालले जानकारी नभएका कारणले बिमा भुलवश हुन गएको दाबी गरिन् । उनले भनिन्, ‘सत्य बल्ल थाहा भयो अब बिमा रकम दाबी गरे पनि दिने आधार हुँदैन ।’
बोर्डले ५ लाख ४ हजार ५ सय ४५ रुपैयाँको बिमाङ्क रकम दाबी गरेको बिमा कम्पनीकी इन्चार्ज रिजालले बताइन् । हाल उक्त गाडी मर्मतका लागि दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा चैत २७ गते मात्रै दुर्घटनाको जानकारी दिइएको छ । ट्राफिक प्रहरी कार्यालयले बोर्डका कर्मचारी गङ्गाराम भट्टराईले दुर्घटनाका बारेमा चैत २७ गते सूचना दिएको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख इन्स्पेक्टर श्यामकुमार बस्नेतले आवश्यक परेमा घटनाको जानकारी लिने बताए । उनले दर्ता चैत २७ गते गराएको बताउँँदै भने, ‘सत्य–तथ्य बुझ्छौँ ।’ बिमाङ्क रकम दाबी गर्नका लागि बिमा कम्पनीले पनि दुर्घटना मिति मिलाएको चालकको भनाइबाट पुष्टि हुन्छ ।
चालक तेजकुमारले आफूलाई नगरप्रमुख राईले कुनै कारण नदेखाई कामबाट निकालेको बताए । उनले भने, ‘वैशाख १ गते बिदा थियो । २ गते कार्यालय गएँ । हाजिर गर्न नदिनू भनेको छ भने । कार्यकारी निर्देशकलाई सोधेँ । हाजिर नगर्न निर्देशन आएको छ भन्नुभयो ।’ कार्यकारी निर्देशक राजु पोखरेलले मेयरसा’पलाई सोध्नू भनेपछि नगरप्रमुखको कार्यालयमा पुगेको उनले बताए । उनले हटाउनुको कारण दिनुभन्दा कार्यकक्षमा पुग्नेबित्तिकै नगरप्रहरीलाई बाहिर निकाल्न आदेश दिएको बताए । उनले भने, ‘मेयरसा’प मलाई के कारणले कामबाट निकाल्नुभयो भनेर सोध्दा नगरप्रहरी लगाएर बाहिर निकाल्नुभयो । कुन पार्टीले लगाएको पार्टीलाई म सिध्याइदिन्छु भन्नुभयो ।’ चालक राईले आफू कोरोना महामारीको समयमा कोरोनाबाट मृत्यु भएको शव बोक्ने गाडीको चालकको रूपमा नियुक्त भएको बताए । उनले आफू अन्यायमा परेकाले कानूनी उपचार खोज्ने पनि बताए ।
गाडी दुर्घटना र चालकलाई कामबाट निकालेको विषयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जिज्ञासा राख्दा नगरप्रमुख राईले सबैकुरा आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘सबैकुरा मलाई कहाँ थाहा हुन्छ ?’ चालक तेजकुमारले कार्यकारी निर्देशक राजु पोखरेललाई ‘मलाई के कति कारणबाट निकालियो भनेर सोध्दा उहाँले मेरोतर्फबाट त चालकको काम सन्तोषजनक नै रहेको भनेर मेयरलाई बताएको’ भनी जवाफ दिएको बताए । यस विषयमा बुझ्न निर्देशक पोखरेललाई ब्लाष्टकर्मीले पटक–पटक फोनसम्पर्क गर्न खोज्दा सम्पर्कमा आएनन् । केही समयपछि फोन नै अफ गरेका थिए ।