धरान । शनिबार अपराह्नपछि देशका विभिन्न ठाउँमा मध्यम् वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा ३१ मिलीमिटर वर्षा मापन गरिएको जनाएको छ । त्यस्तै पोखरामा २३ दशमलव दुई मिलीमिटर, ताप्लेजुङमा २२ र लुम्लेमा १९ मिलीमिटर वर्षा भएको छ । महाशाखाका अनुसार ५० मिलीमिटर मध्यम् र ५० मिलीमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ ।
देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । उनले भने, ‘देशका केही स्थानमा आज वर्षा भएको छ भने काठमाडौँ उपत्यका, पोखरा ताप्लेजुङलगायत क्षेत्रमा धेरै वर्षा भएको छ ।’
अझै तीन दिन वर्षा
स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा वर्षा भएको महाशाखाले उल्लेख गरेको छ । अझै तीन दिन वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताए ।