विराटनगर । श्रमिकको जीवनस्तर सुधार्न ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कोष प्रभावकारी कार्यान्वयन गरेर अगाडी बढाउनुपर्ने सरोकारवालहरूले जोड दिएका छन् । 

उनीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४ को प्रभावकारी कार्यान्वयन भए श्रमिकको जीवनस्तरमा सुधार हुने बताएका हुन् । 

जिफन्ट कोशी प्रदेशले विराटनगरमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सोमबार आयोजना गरेको कार्यक्रममा सहभागीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीले वित्तीय पहुँच पनि बढाउने भएकोले यसलाई कार्यान्वयन गरेर अगाडी बढ्नुपर्ने बताए । 

सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि श्रमिकको जीवनस्तरलाई गुणस्तरयुक्त बनाउन सहयोग पुग्ने भएकाले कार्यान्वयन पक्षलाई अगाडी बढाएर लैजानुपर्ने उनीहरूको भनाई छ । 

कार्यक्रममा बोल्दै जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमलाले योगदानमा आधारित सुरक्षा सामाजिक सुरक्षामा आबद्ध गराउन दबाब सृजना गरेको बताए । हरेक क्षेत्रमा काम गर्ने श्रमिकहरू योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सचेतना अभियान सँगै दबाब मूलक कार्यक्रमहरू पनि गर्दै आएको उनले सुनाए । 

‘कोशी प्रदेशमा रहेका स्थानी तहहरूमा कार्यविधि बनाएर पेस गरिएको छ । ज्ञापन पत्र बुझाएको छ । कानुनले दिएको अधिकार प्रयोग गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागू गर्न हामीले औद्योगिक प्रतिष्ठानदेखि स्थानीय तहहरूमा पनि दबाब दिँदै आएका छौँ,’ अध्यक्ष धमलाले भने, ‘हामीले रोजगारीमा आबद्ध भएकाहरूको अभिलेख राख्न पनि स्थानीय तहहरूलाई भन्दै आएका छौँ ।’

कार्यक्रममा पेसागत महासंघ मोरङका अध्यक्ष ओम सुवेदी, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाल लगयताले योगदानमा आधारित सामाजिक सुरक्षा कोष प्रभावकारी कार्यान्वयन गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।