धरान । किरात राई यायोक्खा सुनसरीले उभौलीमा कोशी प्रदेशको पुनः नामकरण गर्न माग गर्दै साकेला शिली नाच्ने भएको छ ।
यायोक्खाले हरेक वर्ष पन्ध्र दिनसम्म सुनसरीका विभिन्न स्थानमा उभौली–उधौली मनाउँदै आएको छ । २०५७ सालदेखि मनाउँदै आए पनि यस वर्ष भने प्रदेशको पुनः नामकरणको मुद्दालाई सांस्कृतीकरण गरिने भएको अध्यक्ष राजेन्द्र राईले बताए ।
धरान–१० स्थित यलम्बर सङ्ग्रहालयमा बिहीबार भएको पत्रकार सम्मेलनमा उनले भने, ‘यसपालि हामी साकेलालाई नामकरणसँग जोडेर आन्दोलन गर्नेछौँ ।’ भोलि (शुक्रबार) वैशाखे पूर्णे रहेको छ । वैशाखे पूर्णेदेखि पन्ध्रदिनसम्म मनाउने उभौलीमा प्रदेशको पुनः नामकरणको आन्दोलनलाई समर्थन गरिने उनले बताए ।
प्रदेशको नामकरणको विषयलाई लिएर विगतमा पनि उभौली तथा उधौलीमा किरात प्रदेश राखिनुपर्ने दबाव सिर्जना गरिएको थियो । तर गत फागुन १७ गते प्रदेशको बहुमत सदस्यले कोशी नाम राखेका थिए । उक्त नामका विषयमा आन्दोलनसमेत भएको थियो । उक्त आन्दोलनमा एकजना सहिद पनि भइसकेका छन् ।
कोशी नाम परिवर्तन गरी किरात राख्नुपर्ने अध्यक्ष राईले बताए । उनले किरात सभ्यता रहेको बताए । २०७८ को राष्ट्रिय जनगणनाको क्रममा यायोक्खाले आवद्ध जातजातिलाई धर्मको महलमा किरात राख्न सुझाव दिएका थिए । त्यति मात्रै नभई कार्यक्रम समेत चलाएका थिए । यस विषयमा पत्रकारहरूको जिज्ञासामा उनले भने, ‘किरातभित्र धर्म, संस्कार, संस्कृति सबै पर्छ । धर्मको महलमा अन्य नभएकाले पनि किरात लेख्न बाध्य भयौँ ।’
उभौलीको सुरुवात धरान १३ प्रारम्भिक कार्य समिति (प्राकास)ले गर्ने भएको छ । सधैँ झै यस वर्ष पनि धरान १४ स्थित बुद्धिकर्ण रायको दरबारमा पूजाआजा गरी विधिवत उभौली सुरु गरिने भएको कोषाध्यक्ष उपेन्द्र चाम्लिङले जानकारी दिए ।