देउराली । धरान उपमहानगरपालिका १७ नम्बर वडा कार्यालयमा चलिरहेको बैठक कक्षमा प्रवेश गरी वडाध्यक्ष तथा जनप्रतिनिधि माथि भएको आक्रमणको घटनालाई लिएर उपमहानगरपालिकाका २८ जना जनप्रतिनिधिले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् ।
उनीहरूले टिएलओसँग छलफल गरिरहेका वडाध्यक्ष मनोज भट्टराई माथि भएको आक्रमणको भर्त्सना गर्दै दोषीलाई कडा कानुनी कारबाहीको माग समेत गरेका छन् ।
विगतमा शान्त र सभ्य ढङ्गले अगाडी बढिरहेको धरान स्वतन्त्रताको नाममा नगर प्रमुख हर्क राज राई र उनका सर्मथकहरुले सामाजिक सञ्जाल मार्फत गर्दै आएका टिप्पणी आदेश र गैर कानुनी कार्यपद्धतीका कारण अराजकता बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
धरान १७ को घटना: नगरप्रमुख समर्थक र वडाध्यक्ष समर्थत अमने सामने (भिडियाेसहित) (blastkhabar.com)
धरान १७ को वडा कार्यालयमा अभद्र व्यावहार देखाउने ३ जना पक्राउ (blastkhabar.com)
प्रेस विज्ञप्तिमा भनिएको छ "सञ्चार कानुन बनाएर प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षा, संरक्षण, संवर्द्धन गर्नुको सट्टा सञ्चार माध्यम सञ्चारकर्मीलाई गाली गर्ने सञ्चारकर्मीलाई आफू समक्ष आएर बयान दिन आदेश दिने जस्ता गैर कानुनी र प्रेस अभिव्यक्ति स्वतन्त्रताप्रति धावा बोल्ने काम भइरहेको छ, यसले हामीलाई लज्जित बनाएको छ । "
उनीहरूले नगर प्रमुख हर्कराज र उनका समर्थकहरूले विभिन्न सामाजिक सञ्जालमा विभिन्न समयमा वडा अध्यक्ष, कार्यपालिका सदस्यहरूमाथि अमर्यादित भाषा प्रयोग गरी गालीगलौज तथा धाक धम्की दिने, सामाजिक प्रतिष्ठामाथि आक्रमण गर्ने तथा आफ्ना समर्थकहरूलाई अराजक कार्य गर्न उक्साउने लगायत नियोजित कार्य गरेको आरोप लगाएका छन् ।
विज्ञप्ति मार्फत २८ जना जनप्रतिनिधिले नगर प्रमुखको उक्साहटबाटै वडाध्यक्ष माथि आक्रमण भएको र धरान अशान्त बन्दै गएको ठहर गरेका छन् । नगरप्रमुखले आक्रमणकारीहरूलाई संरक्षण गरेको र पीडित वडाध्यक्ष तथा सदस्यहरूलाई मुद्दा फिर्ता लिन नगरप्रमुखले दबाब दिएको बताएका छन् ।
उनीहरूले विगतमा नगर प्रमुख समक्ष पाँच बुँदे माग राखेको र उक्त विषयमा छलफल गरी विकास र संबृद्धीको काम अगाडी बढाउनका लचक बनी नगरप्रमुखसँग अनौपचारिक छलफल समेत भइसकेको अवस्थाको बारेका उल्लेख गर्दै नगर प्रमुखले कार्यपालिका सदस्यहरूलाई मागेको राजीनामा फिर्ता गरी कार्यपालिका बैठक बस्ने वातावरण बनाउने अनौपचारिक समझदारी समेत भइसकेको सन्दर्भमा यो नियोजित घटना घट्नु धरानको लागि अत्यन्तै दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।