विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–१ की बबिता देवी माझी बुधबार दिउँसो ठीक ११ बजे गाउँपालिकामा पुगिन् । उनको काम थियो, सामुदायिक भवनको योजना बुझ्नुपर्ने । तर, योजना शाखा प्रमुख कार्यालयमा थिएनन् । उनी तातोघाममा घण्टौं लगाएर कार्यालय आएकी थिइन् । घरको काम माया मारेर योजनाबारे बुझ्न कार्यालय आएकी बबिता काम नभएपछि निराश भइन् ।

‘यत्रो लामो बाटो लगाएर गाउँपालिका आएँ । कर्मचारी नहुँदा सेवा लिन पाइनँ’ निराश हुँदै उनले भनिन्, ‘एकै दिन ठूलो सङ्ख्याका कर्मचारी गाउँपालिकामा आएका छैनन् । फेरि अर्को दिन आउनुपर्यो ।’

यसरी एकै दिन ठूलो सङ्ख्यामा ग्रामथान गाउँपालिकाका अधिकांश कर्मचारीहरू विवाहमा जाँदा सेवा प्रवाहमा समस्या देखिएको हो ।
गाउँपालिकाको योजना शाखाका पाँचाँै तहका कर्मचारी केदार त्रितालको बुधबारको विवाहमा ग्रामथान गाउँपालिकाका अधिकांश कर्मचारी गएको कारणले सेवा प्रवाहमा समस्या देखिएको हो ।

गाउँपालिकामा ४० जना कर्मचारीको दरबन्दी रहेकोमा बुधबार एक दर्जन कर्मचारी मात्र कार्यालयमा हाजिर थिए । ४० मध्ये करिब १० जना प्राविधिक रहेकोले उनीहरू फिल्डमा रहेका छन् । दुई दर्जन कर्मचारी विवाहमा जन्ती गएको पाइएको छ । करिब ६ वटा शाखामा जिम्मेवारी सम्हालेका प्रमुख नभएको कारणले सेवा लिन गएका सेवाग्राहीले सेवा नपाएको गुनासो गरेका छन् ।

कार्यालयमा हाजिर नभई जन्ती जानेहरूमा  लेखा अधिकृत सातौँ तहका निलेश सापकोटा, योजना शाखाका प्रमुख छैठौं तहका टेकनाथ घिमिरे, शिक्षा शाखा प्रमुख छैठौं तहका भीमप्रसाद न्यौपाने, सूचना तथा सञ्चार प्रविधि अधिकृत सूचना शाखाका नारायण चौधरी, कम्प्युटर अपरेटर    प्रशासन शाखाका आशिष श्रेष्ठ, कृषि प्राविधिक    कृषि शाखाका सुरेनकुमार माझी, गोमरु भगत, वडासचिव युवराज बास्तोला रहेका छन् । एकै पटक ठूलो सङ्ख्यामा कर्मचारी जन्ती जाँदा सेवा प्रवाहमा समस्या देखिएको स्थानीयले बताएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार साह पनि बिदामा बसेका छन् । उनले छैठौँ तहका कर्मचारी बालकृष्ण ढकाललाई निमित्त प्रमुखको जिम्मेवारी दिएर विराटनगरमा जिल्ला समन्वय समितिको काममा आएको बताए । ‘गाउँपालिकाको कर्मचारीको विवाह हो । त्यही भएर धेरै साथीहरूले बिदा लिनुभएको छ’ उनले भने, ‘तर, कार्यालयबाट सेवा प्रवाहमा कुनै कठिनाइ भएको छैन । धेरै कर्मचारी साथीहरू फिल्डमा पनि हुनुहुन्छ ।’

ग्रामथान गाउँपालिकाकी उपाध्यक्ष गुणावती देवी थारुले हाजिर चेक नगरेको कारणले कति कर्मचारी कार्यालय आए भन्नेबारे आफूलाई थाहा नभएको बताइन् । ‘गयल भएका कर्मचारीको तलब कट्टा हुनेछ । कार्यालयमा कर्मचारी नभएको विषयमा आफूलाई पनि जानकारी भएन’ उपाध्यक्ष थारुले भनिन्, ‘भोलिदेखि कर्मचारी आए नआएको कडाइ गर्नेछु ।’ सेवा लिन आएका सेवाग्राहीलाई बञ्चित हुन नदिने उनले बताइन् । ‘गाउँपालिकाको कर्मचारीको विवाहका कारण आज थोरै कर्मचारी आएको अनुगमनपछि मैले पनि देखेँ,’ उनले भनिन्, ‘बिहीबारबाट यस्तो समस्याको अन्त्य हुनेछ ।’

photo-garm