सुनसरी । सुनसरीमा दिनहुँजसो आगलागीका घटना बढ्दै गए पनि आगलागी नियन्त्रण र उद्धारमा पूर्वतयारी गरिएको पाइँदैन ।
गर्मीयाम हावाहुरीको मौसम चलेसँगै जिल्लामा आगलागीका घटना बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख २६ गतेसम्मको अवधिमा ४९ वटा आगलागीका घटना भइसकेका छन् । तर, जिल्लाका अधिकांश स्थानीय तहमा दमकल छैन भने कतिमा भए पनि सञ्चालनमा छैन ।
भोक्राहा नरसिंह गाउँपालीका वडानम्बर ६ मा सोमबार र मङ्गलबार आगलागी हुँदा ११ लाख बढीको क्षति भएको छ । भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ६ का अध्यक्ष सराजुद्दिन अन्सारीका सोमबार वडानम्बर ६ को स्थानीय टिनुलाल साहको घरबाट विद्युत् सर्ट भई आगलागी हुँदा सो बराबरको क्षति भएको छ । आगलागीबाट स्थानीय टिनुलालका साथै भागवत साह, ललिया साह र जोगिन्द्र साहको टिनको छानो भएको एक एक घर तथा गोठ जलेर नष्ट भएको उनले जानकारी दिए ।
यस्तै मङ्गलबार भोक्राहा नरसिंह वडानम्बर ६ तीनटोलियामा स्थानीय शिवनारायण साहको मकै बारीमा मकै पत्ता जलाउन लगाएको आगोबाट आगलागी हुँदा सकुर मियाँको बासको टाँटीको बेरा र टिनको छानो भएको १ तले घरमा क्षति पुगेको सुनसरी प्रहरीले जनाएको छ । सो आगलागीबाट सकुर मियाँको घरको बरन्डामा आंशिक क्षति पुगेको र सोही स्थान बस्ने अजिम मियाँको ३ वटा लिटरको काठ जली नष्ट भएको हुँदा अन्दाजी ५० हजार बराबरको क्षति भएको सुनसरी प्रहरीले जनाएको छ ।
छैन दमकल
मङ्गलबार दिउँसो भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ६ स्थित तीनटोलियामा दिउँसो २ बजेर ४५ मिनेटमा आगलागी भयो । आफ्नो दमकल नभएपछि स्थानीयले कोशी गाउँपालिकाको दमकललाई फोन गरे । फोन गरेको ३० मिनेटपछि दमकल आइपुग्दासम्म स्थानीय आफैले आगो नियन्त्रणमा लिइसकेका थिए । सुख्खायाममा हावाहुरी चलेपछि जिल्लाका विभिन्न स्थानमा दैनिक आगलागीका घटना भइरहेका छन् । बढीजसो ग्रामीण क्षेत्रका बस्तीमा आगलागीका घटना हुने गरेका छन् ।
तर, जिल्लाका सबै स्थानीय तहसँग आगलागी भए नियन्त्रणमा लिन सक्ने उपायको व्यवस्था छैन । ‘दमकल मात्रै अभाव होइन, गाउँमा आगलागी भएको अवस्थामा नियन्त्रण, उद्धार र राहतलगायत विपद् व्यवस्थापनको पूर्व तयारी गरिएको पाइँदैन’–सदरमुकाम इनरुवाका सामाजिक अगुवा पुरुषोत्तम घिमिरेले भने । तर, स्थानीय तहका जनप्रतिनिधि भने त्यो कुरा स्वीकार गर्न चाहँदैनन् । भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद आफ्नै पालिकामा दमकल अभाव भए पनि आगलागी भएको खबर आउनेबित्तिकै दमकल पठाउने गरेको दाबी गर्छन् ।
आगलागीका घटना भए, नियन्त्रणमा लिनसक्ने दमकल जिल्लाका १२ स्थानीय तहहरूमध्ये इटहरी, धरान र कोशीको मात्रै अहिले सञ्चालनमा छन् । इनरुवा नगरपालिकाको पनि आफ्नै दमकल भए पनि नियमितरूपमा सञ्चालनमा आएको पाइँँदैन । अन्य स्थानीय तहहरूमा आवश्यकता भए पनि तत्कालै यसबारे कुनै योजना रहेको देखिँदैन ।
माघ, फागुन, चैत र वैशाखमा महिना भएका आगलागीका घटनाबाट २ करोड ६० लाख ४५ हजार बढीको धनमाल नोक्सानी भएको सुनसरी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा डिएसपी राजकुमार राईका अनुसार हावाहुरीको मौसम सुरु भएपछि जिल्लामा आगलागीका घटनामा वृद्धि भएको बताए । पछिल्लो समय जिल्लाको ग्रामीण भेगमा आगलागीको घटना बढेको बताउँदै उनले आगलागी र डढेलोसम्बन्धी पर्याप्त जानकारी नहुँदा आगलागीका घटना बढेको बताए । ‘आगलागीका घटना बढे पनि अधिकांश स्थानीय तहमा आफ्नै दमकल छैन’ उनले भने, ‘सबै स्थानीय तहमा दमकलको व्यवस्था हुनुपर्ने हो ।’ ‘यहाँ ग्रामीणभेगका गाउँमा आगलागीका घटना हुने गरेका छन् । ती क्षेत्रका स्थानीय तहहरू यसतर्फ सचेत हुन जरुरी छ’–डिएसपी राईले भने ।
आगलागीका घटनालाई समय नियन्त्रण गरी घाइतेलाई उद्धार गर्दै नेपाल प्रहरीले अग्नि पीडितलाई आवश्यकता अनुसार पालिका, रेडक्रस, जिल्ला विपद् व्यवस्थापन समितिले राहत र सहयोग उपलब्ध गराउन आफ्नो भूमिका निर्वाह गरिरहेको उनले बताए । आगलागीका घटना बढ्दा कोशी गाउँपालिकाको दमकललाई भ्याई नभ्याई भएको चालक करिम मन्सुरीले जानकारी दिए । उनका अनुसार हावाहुरीको मौसम चलिरहेको कारण आगलागीका घटना बढ्दै गएपछि कोशी गाउँपालिकाको दमकल भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्ज गाउँपालिकासहित इनरुवा र वराहक्षेत्र नगरपालिकासम्म पुग्ने गरेको छ ।