इनरुवा । काम गरिदिने बहानामा सर्वसाधारण ठग्ने गरेको भेटेपछि सुनसरी जिल्ला प्रशासनले ४ जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ ।

सर्वसाधारणको गुनासोपश्चात् लेखापढीको काम गर्नेहरूलाई पक्राउ गरी ठगी गरी असुलेको रकमसमेत फिर्ता गराएको हो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पासपोर्टका नाममा ११ हजारदेखि ३० हजार रुपैयाँसम्म रकम लिएको पुष्टि भएको बताइन् । प्रजिअ पाण्डेले भनिन्, ‘सेवाग्राहीबाट गुनासो आयो । सोधीखोजी गरी सम्बन्धित व्यक्ति पक्राउ गर्दा ठगी गरेको पाइयो । त्यसपश्चात् सेवाग्राहीको रकम फिर्ता गराएर ठगीमा संलग्नलाई कारबाहीको दायरामा ल्याएका छौँ ।’

पाण्डेका अनुसार पक्राउ परेकामध्ये केहीलाई धरौटीमा छाडिएको छ भने केही तारेखमा छुटेका छन् । केही पक्राउ पर्ने डरले फरार रहेका छन् । जसलाई प्रहरीले खोजी गरिरहेको छ । प्रजिअ पाण्डेका अनुसार प्रशासनले कडाइ गर्न थालेपछि ठगिएका सर्वसाधारण सोझै गुनासो लिएर कार्यालयमा आउन थालेका छन् । जसमा नागरिकता र राहदानी बनाउँदाका केही महिनाअघिका ठगीसम्बन्धी गुनासो लिएर आएका थिए । जसउपर समेत अनुसन्धान थालिएको छ । प्रजिअ पाण्डे भन्छिन्, ‘सर्वसाधारणबाट आउने गुनासो बढ्न थालेपछि प्रशासन एक्सनमा उत्रिएको छ । सेवा दिलाउने नाममा सर्वसाधारण ठग्न पाइँदैन । ठग्नेको पहिचान गरी नियन्त्रणमा लिएर कानूनी कारबाहीको प्रक्रिया अघि बढाइनेछ ।’

उनले थपिन्, ‘गेटबाहिर खोलिएका पसल, फर्म दर्ता छन्–छैनन् निक्र्यौल गर्ने काम भइरहेको छ । विना दर्ता खोलिएका पसल, फर्म खारेजीको प्रक्रियामा लगिनेछ । मातहतमा सो बारे कुरोसमेत पुर्याइसकिएको छ । दर्ता रही कानूनसम्मत चलेका र निःस्वार्थ सेवा दिनेको हकमा भने उक्त विषय लागू हुने छैन ।’ यसैबीच प्रशासनले दिएको जानकारी अनुसार कार्यालयले ठगीमा संलग्नलाई पक्राउ गरी रकम फिर्ता गराएसँगै ठगीमा जोडिएका पुराना प्रकृतिका घटनासमेत नियाल्न थालेको छ ।

कार्यालयले लेखापढीको नाममा काम गर्दै आएकाहरूको आनीबानी र आचरणसँगै पुरानो रेकर्ड केलाउँदै नियमित निगरानी बढाएपछि कार्यालयबाहिर बाक्लो सङ्ख्यामा देखिने लेखापढी व्यवसायीको सङ्ख्यासमेत घट्न थालेको छ । व्यक्ति भागेपछि केही सटरमा प्रशासन आफैले ताला लगाइदिएको छ ।

प्रशासनले ठगीबाट जोगिन सेवाग्राहीलाई सोझै कार्यालयमा आएर असुविधा वा कुनै पनि समस्या बारे जानकारी गराउन भनेको छ । कार्यालयले कार्यालयभित्रै डेस्क राखेर सेवा सहजीकरणको बन्दोबस्ती मिलाएकाले सोहीमार्फत् सर्वसाधारण सेवाग्राहीले निवेदनदेखि लिएर फोटोकपी र हुलाक टिकटसम्मको सेवा लिन सक्ने जनाएको छ ।

जसका बावजुद गेट बाहिर खोलिएका पसल र फर्मले सडकबाटै आउँदै गरेका सेवाग्राही तानेर ठग्ने क्रम नरोकिएपछि त्यस्तो कार्यलाई निरुत्साहित गर्न कडाइ गरेको स्पष्ट पारेको छ । जिल्ला प्रशासन कार्यालय पुग्ने सेवाग्राही लेखापढी व्यवसायीबाट ठगिएको विषय सुनसरीको हकमा नयाँ भने हैन । अघिल्ला प्रजिअका पालामा समेत त्यस्ता गुनासा आए पनि संलग्नउपर खासै कारबाही र कडाइ भने हुने गरेको थिएन । सुनसरी प्रशासनमा कार्यभार सम्हालेदेखि नै पाण्डेले उक्त विषयलाई प्राथमिकतामा राख्दै आएकी थिइन् ।