देउराली । धरानका नगर प्रमुख हर्कराज राईले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि हस्तक्षेप गर्ने गरी पटक–पटक पत्रकारहरूलाई गालीगलौज तथा सञ्चार क्षेत्र माथि आक्रमणको प्रयास गरेको भन्दै विरोध स्वरूप पत्रकार महासंघ सुनसरीले आज मौन जुलुस प्रदर्शन गरेको छ ।
पत्रकार तथा सञ्चार संस्था प्रति धरानका नगर प्रमुख राईले सामाजिक सञ्जालमा दिएको अभिव्यक्ति प्रति पत्रकारहरू असुरक्षित भएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएको महासंघले पहिलो चरणको आन्दोलन स्वरूप आज चौथो दिन मौन जुलुस प्रदर्शन गरेको हो ।
प्रेस स्वतन्त्रतालाई सम्मान गर, तिमी शासक कि जनप्रतिनिधि ?, स्वतन्त्र पूर्वक बोल्न र लेख्न देऊ, प्रेस स्वतन्त्रताका रक्षा गर लगाएको प्ले कार्ड छातीमा भिरेर पत्रकारहरूको भानु चोकबाट सुरु भएको मौन जुलुस उपमहानगरपालिकाको गेटमा पुगेर कोणसभामा परिणत भएको थियो । नगर प्रमुख राईको पत्रकार तथा सञ्चार संस्था प्रतिको अभिव्यक्तिको विरोध स्वरूप नगरपालिकाको गेटमा पत्रकारहरूले मुख थुनेर विरोध जनाएको थिए । विरोध प्रदर्शनमा धरानका बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको ऐक्यबद्धताका साथै सहभागिता रहेको थियो ।
यस अघि महासंघले जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रीसमक्ष सुरक्षा माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ज्ञापन पत्र बुझाएको थियो ।
त्यस्तै, शनिबर र आइतबार सुनसरीबाट प्रकाशन तथा प्रसारण हुने सञ्चारमाध्यम एउटै नारा प्रसारण तथा प्रकाशन गरेका थिए भने पत्रकारहरूले सामाजिक सञ्जालमा उक्त नारा पोस्ट गरेका थिए ।
भोलि, धरान उपमहानगरपालिकाका पूर्व प्रमुखहरूसँग अन्तरक्रिया गर्दै पहिलो चारणको आन्दोलन सकिने महासंघका अध्यक्ष जनकऋषि राईले बताए । उनका अनुसार दोस्रो चरणको आन्दोलन भने फरक र सशक्त हुने छ ।
नगर प्रमुख राईले समाचार सङ्कलनका लागी उपमहानगर पुगेका पत्रकारहरूलाई दुर्व्यवहार गर्दै सामाजिक सञ्जालमा शृङ्खलाबद्ध रूपमा अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता विरोधी गतिविधि बढाएपछि महासंघले पत्रकारका लागि समाचार सङ्कलन गर्न जाने सहज वातावरण नभएको जनाउँदै आएको छ ।
प्रश्न सोधेको र समाचार लेखेकै आधारमा नगर प्रमुख राई र उनका समर्थकहरू पत्रकारविरुद्ध अराजक रूपमा प्रस्तुत हुने गरेका छन् ।
निरन्तर पत्रकार र सञ्चार क्षेत्र लक्षित दुर्व्यवहार र अराजक अभिव्यक्ति दिइरहँदा यसअघि महासंघले नगर प्रमुख राईलाई पत्रकार तथा सञ्चार क्षेत्र प्रतिको धारणा माग गर्दे ध्यानाकर्षण पत्र बुझाएको थियो । ३ दिन भित्र धारणा दिन भन्दै महासंघले वैशाख २३ गते ध्यानाकर्षण गराए पनि आधिकारिक रूपमा धारणा नदिएपछि महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।