बिर्तामोड । बिर्तामोड–खुदुनाबारी सडक निर्माणका लागि ठेक्का लागेको एक वर्ष बित्यो । १५ करोड ८२ लाख ७७ हजार १ सय ९९ रुपैयाँको बजेटमा निर्माण हुने सडकको ठेक्का अवधि अब एक वर्षको छ । तर, एक वर्ष बितिसक्दा काम भने ५ प्रतिशतमात्र भएको छ ।
ठेकेदार संस्था ‘प्रवीण–मैनाचुली–शान्ति जेभी’ ले काम गर्न आलटाल गर्दा समयमा सडक निर्माण हुन नसक्ने आशङ्का बढेको छ । एक वर्षको अवधिमा ठेकेदार संस्थाले लिएको पेश्की रकम ५ प्रतिशत बराबरको समेत काम नगर्दा दोस्रो पटकको पेश्की रकम निकासा गर्न समस्या भएको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर उज्वल खतिवडाले बताए । रहस्यमय कुरा त के छ भने त्यस आयोजनाको बारेमा स्थानीय कोही पनि जानकार छैनन् ।
निर्माण पक्षले ‘आयोजना सूचना पाटी’ नराख्दा यसको पारदर्शितामाथि पनि प्रश्न उठेको छ । २०७९ जेठ ९ गते सम्झौता भए पनि निर्माण पक्षले यस आयोजनाबारे सरोकारवालालाई जानकारी दिएको छैन । आयोजना परिसरमा सूचना पाटी निर्माण गरेर अनिवार्यरूपमा राखिनुपर्ने नियम पनि निर्माण पक्षले पालना नगरेको इन्जिनियर खतिवडा बताउँछन् ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट प्राप्त बजेटले २०८१ जेठमा यो योजना सम्पन्न भइसक्नुपर्ने सम्झौता छ । सम्झौता गर्ने र काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीको परम्परागत कामलार्ई यस संस्थाले पनि निरन्तरता दिएको छ ।
बिर्तामोडबाट सुरु हुने सडक कप्तानबारी हुँदै सालबारी झिलसम्म ६ दशमलव १ किलोमिटरको निर्माण हुनेछ । एकवर्ष बितिसक्दा २० मिटरको ड्रेनमात्र निर्माण भएको इन्जिनियर खतिवडाले जानकारी दिए । ‘हामीले काम ढिलो भयो भनेर निर्माण पक्षलाई पटक–पटक पत्र काटेका छौैं’ इन्जिनियर खतिवडाले भने, ‘तीनवटा निर्माण कम्पनीमध्ये अरू दुईवटालाई तपाईंको फर्म कालोसूचीमा जाने अवस्था छ भनेर भनेका छौं, अब पनि काम यही गतिमा भए दोस्रो किस्ता रकम निकासा गर्दैनौँ ।’ रकम रोक्का गरेर फर्मलाई कारबाही गर्ने प्रक्रिया अघि बढाउनेसमेत इन्जिनियर खतिवडाले बताए ।
साँघुरो सडक, सडकको झण्डै ८० प्रतिशत भागमा निर्माण सामग्रीको भण्डारण, सडकको एकातिर ड्रेन निर्माण हुँदै गरेको अवस्था छ । तर, काम गर्ने मजदुर भने तीन–चारजना मात्र । शनिश्चरेबाट बिर्तामोड ओहोर–दोहोर गर्ने जो कोहीले पनि यो दृश्य देख्न थालेको ६ महिना भयो । सडकमै निर्माण सामग्री भण्डारण गरिएका कारण यहाँ दुर्घटनाको जोखिम पनि बढेको छ । तीन–चारजना मजदुरले ६ महिना लगाएर आयोजनाको ५ प्रतिशत काम सम्पन्न गरेका हुन् । काम छिटो सञ्चालन गर्न दबाव दिन अर्जुनधारा नगरपालिकाले पटक–पटक ठेकेदार संस्थाका प्रतिनिधिसँग छलफल चलाएको जनाएको छ । तर, ठेकेदार संस्थाले अटेर गर्दा सडक निर्माण हुँदै गरेजस्तो देखिए पनि निर्माण सम्पन्न हुनेमा अन्यौल उत्पन्न भएको छ । सबैतिरबाट दबाव आए पनि समयमा काम सक्ने छाँटकाँट ठेकेदार संस्थाले देखाएको छैन ।
सो सडक निर्माणकर्ता अनिल भट्टराईले समयमा काम सक्न प्रतिबद्ध रहेको बताए । ‘काम केही ढिलो भएको हो, दुई स्थानबाट कामलाई अघि बढाएका छौँ’ भट्टराईले भने, ‘समयमा निर्माण गरेर हस्तान्तरण गर्ने कुरामा हामी प्रतिबद्ध छौँ ।’ भट्टराईले सूचना पाटी नराखेकोमा गल्ती भएको भन्दै अब छिट्टै त्यो आयोजना बारेको विस्तृत जानकारीसहितको सूचना पाटी बनाएर राखिनेसमेत बताए । उनले यात्रुले दुःख पाएको भन्दै असोजसम्ममा बिर्तामोडदेखि कप्तानबारीसम्मको तीन किलोमिटर सडकमा भने कालोपत्रे गरिने जानकारी दिए । खासगरी निर्माण मजदुरको अभाव भएका कारण मानिसले गर्ने काममा सोचेजति समयमा गर्न नसकिएको उनले बताए । विद्युत् प्राधिकरणले पोल सार्न ढिलाइ गरेकाले पनि निर्माण कार्य प्रभावित भएको उनको भनाइ छ ।