भद्रपुर । करोडौँ मूल्य पर्ने जग्गा जालझेल गरेका कारण झापाको एक परिवार जग्गाविहीन भएको छ । जसका कारण जग्गाधनी मानसिक रोगी बन्दै मृत्यु भएको छ ।
झापा बिर्तामोड नगरपालिका–८ पग्लिघट्टीका हरि मैनालीको शनिबार बेलुका मृत्यु भएपछि परिवारमा विपत् आइपरेको हो । घटना विवरणअनुसार मैनालीले २०७० वैशाख ८ गते मालपोत कार्यालय झापामा २० लाख बैनाबट्टा लिएर भक्तपुरको झौखेल–३ बस्ने दीपकचन्द्र न्यौपानेलाई १ बिघा १० कठ्ठा जग्गा राजीनामा पास गरिदिएका थिए ।
तर, जग्गाबापत बाँकी रकम ४ करोड भरे भोलि दिने भन्दै नदिएपछि २०७७ साल असोज २३ गते बिर्तामोड नगरपालिका–८ को कार्यालयमा दुवैपक्ष भेला भएर वडाध्यक्षको रोहवरमा लिनेदिने तमसुक गरी सोही दिन १ लाख ५० हजार रुपैयाँ मैनालीलाई दिने र बाँकी रकम चेकमार्फत् २०७७ चैत २१ गते १ करोड, २०७८ असोज २१ मा १ करोड, २०७८ चैत २१ मा १ करोड र २०७९ चैत ६ मा ९८ लाख ५० हजारको चेक दिने सर्त कबोल गरेका थिए ।
तमसुक बमोजिम चेकमार्फत् रकम नपाएपछि मैनाली परिवारले कानूनी उपाय अपनाएर अदालतमा चेक बाउन्सको मुद्दा दायर गरेका थिए । उक्त मुद्दा उच्चअदालत इलाममा विचाराधीन छ भने न्यौपाने धरौटीमा छुटेको मैनाली परिवारले जनाएको छ ।
त्यसै गरी २०७० साउन २४ गते पुनः मैनालीले काभ्रेपलाञ्चोकको ढुङ्खर्क–७ बस्ने नमराज ढुङ्गानालाई १२ कठ्ठा १० धुर जग्गा राजीनामा गरिदिएका थिए भने ३ कठ्ठा गरामुनी–८ मा रहेको प्रशान्ति एकेडेमीलाई तत्कालीन विद्यालयका प्रिन्सिपल धनपति नेपालले सहयोगका लागि विद्यालयको नाममा राजीनामा गर्ने र पछि फिर्ता गर्ने मौखिक शर्तमा मैनालीले राजीनामा गरिदिएका थिए ।
गरामुनी बजारछेउमा रहेको एक मोटरसाइकल ग्यारेजलाई मोटरसाइकल मर्मत गरेबापत १ लाख दिन नसकेर भएको १ कठ्ठा पनि १ लाख दिएर फिर्ता गर्ने शर्तमा ग्यारेज मालिक राजवंशीलाई राजीनामा गरिदिएको पारिवारिक स्रोतले बताएको छ ।
पाथीभरा मार्बल्स एन्ड ग्रेनाइट कम्पनी प्रा.लि सञ्चालनका लागि स्वर्गीय डिल्ली मैनाली, युवराज सिटौला, चेतराज सिटौला र सौरभ सिटौलासमेत चार जनाको मौखिक सरसल्लाहमा डिल्ली मैनालीको नाममा रहेको ०–१६.१७ कठ्ठा जग्गा मेघा बैङ्कमा धितो राखेर ऋण निकालेका थिए ।
जब मैनालीको मृत्यु भयो, तब मैनालीका अंशियारको रूपमा एकमात्र भाइ हरि मैनाली रहेको हँुदा जग्गा फुकुवा गरी आफ्नो नाममा नामसारी गर्नको लागि युवराज सिटौलालाई जानकारी गराउँदा आनाकानी गरेपछि २०७८ फागुन १५ गते बिर्तामोड नगरपालिका–८ को वडा कार्यालयमा वडाध्यक्ष अजय कार्कीको रोहवरमा मैनाली पक्षले युवराज सिटौलालाई ४० लाख दिएपछि फुकुवा गरिदिने सर्तनामा कागजात गरे पनि सर्तनामालाई टेकेर उल्टै धम्क्याउने गालीगलौज गर्ने गरेको पीडित परिवारले जानकारी दिएका छन् ।
भूमाफियाका गिरोहले हरि मैनालीको नाममा रहेको जग्गा जालझेल गरी सहीछाप गरेको मृतकका भतिज सुमन मैनालीको आरोप छ । न्यायको लागि जिल्ला प्रशासन कार्यालयमा जग्गा हडप्नेविरुद्ध आइतबार उजुरी दिएको उनले बताए । जग्गा फिर्ता नभएमा कडा रूपमा आन्दोलनमा उत्रिने स्थानीयको भनाइ छ ।
परिवारको बिचल्ली बनाउने भूमाफियाहरूलाई कानूनी दायरामा ल्याएर पीडित परिवारलाई न्याय दिलाइने स्थानीयको भनाइ छ । मृतक मैनालीका नाबालक दुई छोरीसहित श्रीमती छन् । मानसिक तनावका कारण श्रीमान्को मृत्यु भएको पत्नी राधा पाण्डे मैनालीले बताइन् ।