देउराली । धरानका नगर प्रमुख हर्कराज राई(साम्पाङ)द्वारा पत्रकार तथा सञ्चार संस्था माथि आक्रमणको प्रयास गरेको भन्दै एक हप्ता देखी आन्दोलनरत पत्रकार महासंघ सुनसरीले आज  धरान उपमहानगरपालिकाका पूर्व प्रमुखहरू सँग अन्तरक्रिया कार्यक्रम गरेको  छ । 

सप्ताहव्यापी पहिलो चरणको आन्दोलनको अन्तिम दिन आज पूर्व प्रमुखहरूसँग पत्रकार तथा सञ्चार संस्थाप्रतिको नगर प्रमुख साम्पाङको अभिव्यक्तीय र त्यसको प्रभावको बारेमा अन्तरक्रिया भएको थियो । 

महासंघको भवन सभा हलमा भएको अन्तरक्रिया कार्यक्रममा, पूर्व प्रमुख बम देवान, कुमारबहादुर कार्की, मनोजकुमार मेन्याङबो, र तिलक राईको उपस्थिति रहेको थियो । 

कार्यक्रममा देवानले कुनैपनि पद धारण गरेको व्यक्तिले सबैलाई समेटेर जान सक्नु पर्ने बताए । उनले भने ‘कुर्सीमा बसी सकेपछि उ व्यक्ति रहँदैन, सबैलाई मिलाएर जान सक्नु पर्छ, पत्रकारलाई त्यसै देशेको चौथा अंग भनिएको हैन । पत्रकारहरूले दिएका सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्न सक्नु पर्छ । ¨

उनले पत्रकारहरू सधैँ निर्भीक हुनुपर्ने भन्दै महासंघको आन्दोलनमा ऐक्यबद्धता रहेको बताए । 


त्यस्तै, पूर्व नगर प्रमुख कार्कीले नगरप्रमुख साम्पाङ लाई कृत्रिम हुन्डरीका संज्ञा दिँदै विगतमा पदमा गएको मानिसहरूले गतिविधि, विचार, मान्यता र महत्त्वाकाङ्क्षा बाट सिर्जित भएको बताए । उनले नगर प्रमुख साम्पाङ कसरी विजयी भए भन्ने कुरा आम धरानेले बुझे पनि साम्पाङ आफूले भने नबुझे जस्तो देखिएको बताए ।

उनले सामान्य साम्पाङलाई असामान्य बनाउन युट्युबरको भूमिका रहेका आरोप लगाउँदै आफू कति ठुलो भए भन्ने परीक्षण गर्न विभिन्न असामान्य गतिविधि देखाउने गरेको देखिएको बताए । उनले ‘ युट्युबले हिरो बनाइदिएपछि भुईँ छाडेर आकाश तिर गए । राजनीति सिक्न मसँग आउन भन्ने भए, म भन्दा ठुलो को छ यो धरानमा भन्ने भए । ¨

उनले नगरप्रमुख साम्पाङलाई लक्षित गरी टपरटुइँय्या रोगले पत्रकार, वडाध्यक्ष तथा  धरानमा धेरै सङ्घसंस्थालाई पनि दुःख दिएको बताए  । कुनै समय धरानले भोलिको कुरा आज सोच्छ भन्ने नेपालको उक्ति  विपरीत २० औँ वर्ष पछि फर्कने स्थिति बनेको कार्कीले बताए ।  


कार्कीले स्थानीय निकाय स्थानीय  सरकारको रूपमा आएपछि कानुनी अस्पष्टता रहेको हुदाँ जनप्रतिनिधि असन्तुलित वा असामान्य हुँदा त्यसको नजिक रहेकालाई दुःख दिने बताए ।  उनले पत्रकारले लेखेर अभिव्यक्त गर्ने भएकाले कुण्ठित हुन नहुने बताए । 

पूर्व प्रमुख मेन्याङबोले पत्रकारमा प्रतिपक्षिय स्वभाव हुनु आवश्यक भएको भन्दै स्थानीय सरकारको सकारात्मक कार्यहरूको प्रचार गर्ने पनि जिम्मेवारी रहेको बताए ।  उनले नगर प्रमुख साम्पाङले आफूलाई भगवान् इन्द्रको स्वरूप ठान्ने गरेको भन्दै सुझाव दिँदा ‘इन्द्रका अगाडी स्वर्गको बखान गर्ने ” भन्दै जवाफ फर्काउने गरेको बताए । उनले अग्रजहरूलाई सम्मान गर्न नजान्नेले केही गर्न नसक्ने बताए । 

उनले भने भ्रष्टाचार विकृति र विसङ्गतिको नारा लगाएर आएको मेयर तपाई जति पनि काम गर्दै हुनुहुन्छ विकृति र विसङ्गति पूर्ण काम गर्दै हुनुहुन्छ । तपाई जति पनि काम गदै हुनुहुन्छ त्यो भ्रष्टाचार मुखी छ । पारदर्शी छैन अपारदर्शी छ ।¨ 


त्यस्तै, धरानका निवर्तमान नगरप्रमुख तिलक राईले धरान पत्रकारहरूको उर्वर भूमि रहेका र पत्रकारहरूले धरानलाई चिनाई रहेको भन्दै नगरप्रमुख साम्पाङले पाएको मत पनि पत्रकारहरूकै कलमको उपज रहेको बताए । उनले प्रेस तथा अभिव्यक्तीय स्वतन्त्रताका सबैले सम्मान गर्नु पर्ने बताउँदै  पत्रकार र सञ्चार संस्थाको वृद्धि विकास स्थानीय सरकारको दायित्व भएको बताए ।

उनले व्यक्तिको व्यक्तिगत आचरणले उ आसीन पदमा प्रभाव पार्ने गरेको भन्दै अहिले धरानमा त्यस्तै भएको बताए । नगरको विकासका लागी पत्रकारहरूसँग समय समयमा छलफल गर्नुपर्ने बताए । पत्रकारहरूले विचार र आस्था बोक्यो भन्दैमा हरेक नागरिकलाई संविधानले दिएको अधिकारको प्रयोग गर्दा तेजोवध गर्न,  गाली गर्ने र अमर्यादित हुने कसैले पनि गर्न नहुने बताए ।