राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएको बताएका छन् । अर्थतन्त्र स्वाभाविक लयमा फर्कन थालेको राष्ट्रपतिले विश्वास व्यक्त गरे ।
सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको उनको भनाइ छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दैै राष्ट्रपतिले सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धि उत्साहजनक रहेको बताए ।
राष्ट्रपतिले पछिल्लो समय राजस्व, वैदेशिक सहायता र वैदेशिक लगानीमा सकारात्मक प्रभाव परेको र विप्रेषण आप्रवाह बढेको बताए । विदेशी मुद्रा सञ्चिति बढेको, बैंकको ब्याजदरमा तुलनात्मक सुधार, विदेशमा भएका लाखाँै नेपाली सामाजिक सुरक्षामा आबद्ध हुने प्रक्रिया सुरु भएको राष्ट्रपति पौडेलको भनाइ छ ।
‘राजस्व चुहावटलाई कडाइका साथ नियन्त्रण गर्न र विप्रेषणलाई औपचारिक मार्गबाट भित्र्याउन सरकार स्पष्ट मार्गचित्रका साथ अगाडि बढेको छ, राष्ट्रपति पौडेलले भने, सार्वजनिक सेवा प्रवाहमा सुधार आएको छ ।’