मानव अधिकार उल्लंघनका घटना तथा मानव अधिकारका पक्षमा राष्ट्रिय मानव अधिकार आयोगले निष्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिइएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिकोत्सवका अवसरमा मानव अधिकार आयोग नेपालगञ्जले आज यहाँ आयोजना गरेको कार्यक्रममा नागरिकले आफ्नो अधिकारको प्रत्याभूति गर्न नपाइरहेको अवस्थामा आयोगले निष्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिइएको हो ।
कार्यक्रममा प्रमुख अथिति उच्च अदालत तुल्सीपुरका न्यायाधीश भानुभक्त शर्मा न्यौपानेले मानव अधिकार संरक्षण र संवर्द्धनमा जनतालाई अझै पनि सचेत र सजग गराउन आवश्यक रहेको बताएका छन् । “मानव अधिकार उल्लंघनका घटना के हुन् र कस्ता हुन्छन् भन्ने विषयमा जनता अझै पनि अन्योलमा छन् । यसले गर्दा घटना घट्ने सम्भावना हुने हुँदा यस विषयमा जनतालाई सचेत गराउन आवश्यक छ”, उनले भनेका छन् ।
न्यायाधीश शर्माले मावन अधिकारका घटना आयोगमा जति दर्ता हुनुपर्ने हो त्यति दर्ता हुन नसकेको उल्लेख गर्दै घटना दर्ता प्रक्रियामा पनि गम्भीर हुन आयोगलाई सुझाव दिएका छन् । उनले समग्रमा मानव अधिकारको संरक्षणमा आयोगको भूमिका महत्वपूर्ण भएकाले पारदर्शी भएर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
मानव अधिकार उल्लघङ्नको कानुन नहुँदा पनि उच्च र सर्वोच्च अदालतले यस क्षेत्रमा काम गर्दै आएको स्मरण गर्दै न्यायाधीश शर्माले अहिले समयसापेक्ष कानुन भएकाले नागरिकका पक्षमा गम्भीर भएर काम गर्न आयोगलाई आग्रह गरेका छन् ।
कार्यक्रममा आयोगका कार्यालय प्रमुख द्वारिका शर्मा अधिकारीले सकारात्मक कुरालाई आत्मसात् गर्दै आगामी दिनमा आफ्ना कमी कमजोरीलाई सुधार गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “विगतमा हामीबाट अन्जानमा भएका गल्तीहरुलाई समीक्षा गरेर आत्मसात् गर्दै ती गल्तीलाई कमजोरीका रुपमा स्वीकार गरेका छौँ”, उनले भने, “आगमी दिनमा तीनै कमजोरीलाई सुधार्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
कार्यक्रमका सहभागीहरुले तीनै तहको सरकारले मानव अधिकारसम्बन्धी कार्यक्रमको आयोजना बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बाँकेका मावन अधिकारकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रमुखलगायत विभिन्न संघसंस्थामा आबद्ध अभियन्ताहरुको सहभागिता थियो ।
—रासस