धरान । सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा व्यावसायिकतर्फ धराने गल्फरहरूबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ ।
काठमाडौँको गोकर्ण गल्फ क्लबको कोर्षमा जारी प्रतियोगिताको दोस्रो दिन व्यावसायिक गल्फर नेपालका नम्बर वान शुक्रबहादुर राई र निरज तामाङबीच ६ अण्डर १ सय ३८ कार्ड बनाउँदै टाइ गरेका छन् । तर, समग्रमा भने एमेच्योर गल्फर सद्भाव आचार्य र सुवास तामाङ संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । ३६ होलको समाप्तिमा समग्रमा उनीहरूले ९ अण्डर १ सय ३५ कार्ड बनाएका छन् । उनीहरू व्यावसायिक गल्फरद्वय शुक्र र निरजभन्दा तीन स्ट्रोकले अगाडि छन् । पहिलो दिन सुवास तामाङ शीर्षस्थानमा रहेका थिए । दोस्रो दिन भने अर्का एमेच्योर गल्फर सद्भावले उत्कृष्ट पुनरागमन गर्दै बराबरीमा आएका छन् । राष्ट्रिय टिमका खेलाडी सद्भावले बुधबार ७ अन्डर ६५ को उत्कृष्ट स्कोर कार्ड बनाउँदै शीर्ष स्थानमा उक्लिए । सुवाशले भने इभन पार ७२ खेल्दै दोस्रो दिन शीर्षस्थान बाँडे ।
दिनकै उत्कृष्ट कार्ड बनाउने क्रममा दोस्रो दिन नीरज तामाङले ८ अन्डर ६४ कार्ड खेले । यो स्कोरमा नीरज डिफेन्डिङ च्याम्पियन शुक्रसँग तेस्रो स्थान बाँडेका छन् । शुक्रले दोस्रो दिन ५ अन्डर ६७ कार्ड बनाए । दुवैले समग्रमा ६ अन्डर १ सय ३८ स्कोर गरे । ४ अन्डर १ सय ४० सहित भुवन नगरकोटी र तोरणविक्रम शाही संयुक्तरूपमा पाँचौं स्थानमा छन् । भुवनले ४ अन्डर ६८ र तोरणले इभन पार ७२ स्कोर गरे ।
यसैगरी जयराम श्रेष्ठ र शिवराम पौडेल संयुक्तरूपमा सातौं स्थानमा छन् । दुवैले बुधबार इभन पार ७२ को कार्ड बनाए । समग्रमा २ अन्डर १ सय ४२ सहित सूर्यप्रसाद शर्मा नवौं स्थानमा छन् । उनले दोस्रो दिन २ अन्डर ७० स्कोर गरे । इभन पार ७२ सहित समग्रमा १ अन्डर १ सय ४३ सहित दिनेश प्रजापति दशौं स्थानमा छन् । ३६ होलको समाप्तिमा ७ ओभर १ सय ५१ स्कोर गर्ने २३ प्रोफेसनल गल्फर र ६ एमेच्योर गरी २९ खेलाडीले कट बनाएका छन् । प्रोफेसनलतर्फ रवि खड्का, राजेन्द्र थापा मगर, रामकृष्ण श्रेष्ठ, कमल तामाङ, भुवनकुमार रोक्का, धनबहादुर थापा, दलबहादुर गुरुङ, रामे मगर, पूर्णप्रसाद शर्मा, भूबहादुर गुरुङ, टासी घले, दीपक मगर, टङ्कबहादुर कार्की, दीपक न्यौपाने र बलभद्र राईले अन्तिम ३६ होलको लागि स्थान सुरक्षित गरे ।
एमेच्योरतर्फ टासी छिरिङ तेस्रो स्थानमा छन् । उनले २ अन्डर ७० सहित समग्रमा १ सय ४४ स्कोर गरेका छन् । यसैगरी वाङ्चेन ढोन्डुप, भरत थापा मगर र प्रज्वल गुरुङसहित ६ एमेच्योर खेलाडीले पनि कट बनाए ।
धरानका प्रोफेसनल गल्फर नीेरज तामाङले दिनकै उत्कृष्ट कार्ड निकाल्ने क्रममा फ्रन्ट नाइनमा लोभलाग्दो प्रदर्शन गरे । उनले तेस्रोदेखि नवौं होलसम्म लगातार सात बर्डीको सफलता प्राप्त गरे । फ्रन्ट नाइन ७ अन्डर २९ मा पूरा गरे । ११ औं, १२ औं र १५ औं होलमा एक–एक सट बचाए भने १४ औं र १६ औं होलमा बोगी प्रहार गरे । यसैगरी डिफेन्डिङ च्याम्पियन शुक्रले फ्रन्ट नाइन ४ अन्डर ३२ मा सकाए । पहिलो, दोस्रो, तेस्रो, चौथो र सातौं होलमा एक–एक सट बचाउँदा आठौं होलमा बोगी खेपे । ब्याक नाइन १ अन्डर ३५ मा सकाए । १२ औं, १५ औं र १८ औं होलमा बर्डी प्रहार गरे भने ११ औं र १३ औं होलमा बोगी खेपे ।
प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना तथा सूर्य नेपाल प्रा.लि.को प्रायोजनमा प्रतियोगिता सुरु हुँदै छ । प्रतियोगितामा ४१ प्रोफेसनल र ९ एमेच्योर गरी कुल ५० खेलाडी सहभागी छन् । कुल १५ लाख २० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले २ लाख ७० हजार प्राप्त गर्नेछ । यसैगरी दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले क्रमशः १ लाख ७० हजार, १ लाख २० हजार र १ लाख प्राप्त गर्नेछन् । शीर्ष २१ मा पर्ने प्रोफेसनल खेलाडीले नगद हात पार्नेछन् ।