नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा पहिचानका नाममा हत्या प्रयास भएको बताएका छन् । पहिचानवादीका नाममा सत्ता संरक्षित गुण्डाहरूले आतंक मच्चाएको उनको आरोप छ । 

ओलीले कोशी प्रदेश नामकरण विरुद्ध भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष संलग्नता रहेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले माओवादीले पहिले कोशी प्रदेश नामकरणमा साथ दिएको र पछि पुनर्विचार गर्नुपर्छ भनेर भड्काइरहेको आरोप लगाए ।

‘प्रचण्डहरुको यसमा प्रत्यक्ष संलग्नता देखिन्छ, नाम राख्ने, अलि पछि गल्ती भो भन्ने अब पुनर्विचार गर्नुपर्छ भन्ने त्यता मान्छे भड्काउन थाल्ने’ ओलीले भने । एमाले अध्यक्ष ओलीले कोशी नामकरण विरुद्ध भइरहेको आन्दोलनको एमालेले प्रतिवाद गर्ने बताए ।

‘अब नेकपा एमालेले तयारीका साथ दनक दिनुपर्ने अवस्था भयो, किनभने सरकारले यस्तो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन,’ ओलीले भने, ‘हाम्रो कार्यकर्ताको रक्षा हामी आफैंले गर्नुपर्छ, गुण्डाहरु न नियन्त्रण गर्छ, न गिरफ्तार गर्छ न केही गर्छ, प्रोत्साहित गरेको छ, प्रोटेक्सन गरेको छ प्रचण्ड सरकारले ।’

kp-oli

अध्यक्ष ओलीले पहिचानवादीका नाममा एमालेका सांसद र जनप्रतिनिधिहरुको हत्या प्रयास भएको भन्दै अब एमाले आफैंले तयारीका साथ दनक दिनुपर्ने अवस्था आएको बताए ।

‘पाँच–सात जना गुण्डाहरू छन्, मोटरसाइकल चढेर जता पनि जान्छन् र आक्रमण गर्छन् । उनीहरूलाई सत्ताको संरक्षण छ । आज हाम्रा नेता राम रानालाई इलाममा मोबिल छर्केर आगो लगाउने प्रयास गरे । उपसभामुख सिर्जना दनुवार र गाइघाटकी उपमेयरको हत्या प्रयास भएको छ, प्रचण्डपथका यी गुण्डाहरूलाई एमालेले तयारीका साथ दनक दिनुपर्ने भयो । आफ्ना कार्यकर्ताको रक्षा गर्न एमाले सक्षम छ ।’ ओलीले भने । 

पहिचानको नाममा जातीय दंगा फैलाउने कार्य प्रचण्डपथको भएको भन्दै ओलीले पहिचानवादीका नाममा गुण्डाहरू प्रचण्डले प्रयोग गरेको आरोप लगाए ।

‘यो विषको आगो फैलाउन खोजेको हो । देशभर आगो फैलाउन जातजातको आधारमा राज्य, भड्काउन र बिथोल्न खोजेको हो । नाम राखेर, फिर्ता लिनेदेखि पूर्नविचार गर्नुपर्छ भन्नेसम्ममा आइपुग्दा प्रत्यक्ष संलग्नता रहेको पुष्टि हुन्छ’, ओलीले भने, ‘प्रचण्डहरूको यसमा प्रत्यक्ष संलग्नता छ ।’