सुनसरी । कोशी गाउँपालीकाले धानको उत्पादन बढाउन किसानलाई उन्नत जातको धानको बीउ वितरण गरेको छ ।  कोशी गाउँपालीकाका विभिन्न वडाका ३५ जना किसानलाई ५० प्रतिशत अनुदानमा बिहीबार धानको बीउ वितरण गरेको कोशी गाउँपालीका कृषि शाखा प्रमुख सुनिलकुमार साहले जानकारी दिए ।

गाउँपालीकाको वार्षिक कार्यक्रमअनुसार हरेक वर्षजस्तै यसवर्ष पनि अनुदानमा धानको बीउ वितरण गरेको उनले बताए ।  किसानलाई कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब र उपाध्यक्ष अनितादेवी यादवले राधा-१२, चैतै-१,चैतै-२, राम-धान, कान्छी -स्वर्णा, सवन र रंजित धानको बीउ वितरण गरेका हुन ।

समूह,सहकारी र व्यक्तिगतरूपमा किसानको मागअनुसार धानको बीउ वितरण गरेको हुनाले यसको सदुपयोग गर्दै आगामी दिनमा धान उत्पादन बढाउन किसानलाई कोशी गाउँपालीकाक१अध्यक्ष ऐयुब अन्सारीले आग्रह गरे । गाउँपालीकाको माटो सुहाउँदो नयाँ प्रजातीको धानको बीउ वितरण गरिएको हुँदा आगामी वर्ष धानको उत्पादन बढ्ने कृषि शाखा प्रमुख साहको भनाइ छ ।

वितरण गरिएको धानको बीउ ३० बिघा क्षेत्रफलमा रोप्नका लागि पुग्ने बताउदै उनले धानको उत्पादन बढाएर किसानको आयस्तरमा वृद्धि ल्याउने लक्ष्य राखेको बताउँछन् । कृषि सुधार कार्यक्रमअनुसार वार्षिक रूपमा गाउँपालीकाले धानको उत्पादन बढाउन किसानलाई प्रोत्साहित गर्न बीउ,कृषि औजार,यन्त्र,मलखाद,विषादी र प्रविधिमा सहयोग गर्दै आएको गाउँपालीका अध्यक्ष अन्सारीले बताए ।

कोशी गाउँपालीकाले कृषि क्षेत्रलाई मुख्य प्राथमिकता राख्दै कृषिलाई आधुनिकीकरण गर्न अनुदान कार्यक्रमका साथै किसानलाई तालिम दिने काम गरिरहेको अवस्था छ उनले भने कृषि क्षेत्रको अध्ययन गर्न र तथ्यांक संकलन गर्नका लागि विज्ञ नियुक्त गरी काम भइरहेको छ ।

dhan